कलैया । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) को अवसरमा नेपाल पत्रकार महासंघ बारा शाखाले देशभर बढ्दो प्रेस स्वतन्त्रता हननप्रति तीव्र आक्रोश व्यक्त गर्दै राज्यलाई कडा चेतावनी दिएको छ।
अध्यक्ष रमेश सुवेदीद्वारा जारी वक्तव्यमा पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हननका १ सय ३१ घटना भएको उल्लेख गर्दै यसलाई लोकतन्त्रमाथिको ठाडो आक्रमणको रूपमा व्याख्या गरिएको छ। “पत्रकारमाथि हुने धम्की, दबाब र आक्रमण कुनै हालतमा स्वीकार्य छैन,” वक्तव्यमा भनिएको छ।
महासंघले बारा सहित देशभरका सञ्चारगृहहरू विज्ञापन संकुचन र आर्थिक संकटका कारण थलिएको भन्दै यसले स्वतन्त्र पत्रकारितालाई नै धराशायी बनाउने खतरा बढाएको जनाएको छ। “मिडियालाई आर्थिक रूपमा कमजोर बनाएर सत्य दबाउने प्रयास भइरहेको छ,” महासंघको आरोप छ।



वक्तव्यमा श्रमजीवी पत्रकारहरूको भौतिक तथा पेशागत सुरक्षा तुरुन्त सुनिश्चित गर्न, मिडिया क्षेत्रको आर्थिक संकट समाधान गर्न र संविधानप्रदत्त प्रेस स्वतन्त्रताको पूर्ण कार्यान्वयन गर्न सरकारसँग जोडदार माग गरिएको छ। अन्यथा आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ।
साथै, महासंघले पत्रकारिताको मर्यादा र आचारसंहिता पालना गर्दै सत्य र निष्पक्ष सूचनाको पक्षमा डटेर उभिन सम्पूर्ण सञ्चारकर्मीहरूलाई आह्वान गरेको छ।
महासंघले स्पष्ट शब्दमा भनेको छ— “प्रेस स्वतन्त्रता कमजोर भयो भने लोकतन्त्र टिक्दैन।”



