नवीन चौधरी, कोल्हबी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोल्हबी नगर समितिले मधेश प्रदेश संगठन विभाग प्रमुख गणेश धिमालमाथि संगठनात्मक अनुशासन उल्लङ्घन गरेको आरोप लगाउँदै छानबिन तथा कारबाहीको माग गरेको छ।
नगर सभापति सारजङ्ग थापाद्वारा जारी प्रेस विज्ञप्तिमा पार्टी स्थापना हुनुको मूल उद्देश्य देशमा व्याप्त बेथिति, अव्यवस्था र मनपरी प्रवृत्तिको अन्त्य गर्दै विधि, प्रक्रिया र सुशासन स्थापित गर्नु रहेको उल्लेख गरिएको छ। तर, प्रदेश संगठन विभाग प्रमुख धिमालले आफ्नै गृहपालिका कोल्हबीमा पार्टीको संगठन निर्माण सम्बन्धी कार्यविधि र नियमावली उल्लङ्घन गर्दै पदको दुरुपयोग गरेको आरोप लगाइएको छ।



विज्ञप्तिअनुसार धिमालले पार्टीको आधिकारिक जिल्ला तहलाई बेवास्ता गर्दै आगामी अधिवेशनलाई प्रभावित पार्ने उद्देश्यले निर्धारित प्रक्रिया विपरीत कोल्हबी नगरसमिति एकलौटी रूपमा घोषणा गरेका छन्। नगर समितिले यसलाई संगठनात्मक अनुशासनको गम्भीर उल्लङ्घन तथा पार्टीको
विधि र पद्धतिमाथिको ठाडो प्रहार भएको जनाएको छ।
विज्ञप्तिमा पार्टीकै जिम्मेवार पदमा रहेका व्यक्तिबाट अराजक, अनुशासनहीन र स्वेच्छाचारी गतिविधि हुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै यसबाट इमानदार कार्यकर्ता, शुभेच्छुक र समर्थकहरूमा गम्भीर निराशा र असन्तोष पैदा भएको जनाइएको छ।
रास्वपा कोल्हबी नगर समितिले पार्टीका जिल्ला, प्रदेश र केन्द्रका आधिकारिक निकायसँग गणेश धिमालमाथि निष्पक्ष छानबिन गरी कडा संगठनात्मक कारबाही गर्न माग गरेको छ। साथै आगामी दिनमा उनलाई संगठनात्मक संरचनाबाट टाढा राखी पार्टीको विधि, विधान र अनुशासनको रक्षा गर्न आवश्यक कदम चाल्न आग्रह गरिएको छ।
विज्ञप्तिमा यस्ता गतिविधि निरन्तर भइरहे जनप्रतिनिधिप्रति जनताको भरोसा कमजोर हुँदै जाने र आवश्यक परे नागरिकहरूले “राइट टु रिकॉल” जस्तो लोकतान्त्रिक अधिकार प्रयोग गर्न सक्ने चेतावनी समेत दिइएको छ।
नगर समितिले पार्टीभित्र विधि, पद्धति र अनुशासनको रक्षा गर्न सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने अपेक्षा व्यक्त गरेको छ।



