नवीन चौधरी, कोल्हवी । जिविकोपार्जन सुधार कार्यक्रमअन्तर्गत सामूहिक तरकारी खेती सम्बन्धी पाँच दिने व्यावसायिक तालिम कोल्हवीमा सुरु भएको छ। स्थानीय कृषक महिलाहरूको आयआर्जन वृद्धि, आधुनिक कृषि प्रविधिको प्रयोग तथा व्यावसायिक तरकारी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।
जितिया बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा भएको तालिम उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष ललितनारायण चौधरीको अध्यक्षता रहेको थियो। कार्यक्रममा कोल्हवी नगरपालिकाका नगर प्रमुख राम प्रसाद चौधरी प्रमुख अतिथि रहनुभएको थियो भने उपप्रमुख लक्ष्मी कुमारी चौधरी विशिष्ट अतिथिको रूपमा सहभागी हुनुभएको थियो।




कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले ज्योति प्रज्वलन गरी गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य संस्थाका कार्यकारी प्रमुख पारस चौधरीले राख्नुभएको थियो भने संस्थाका उपाध्यक्ष जगदेव चौधरीले कार्यक्रमको उद्देश्य तथा सञ्चालनबारे जानकारी गराउनुभएको थियो।
कार्यक्रममा नगर प्रमुख राम प्रसाद चौधरी, उपप्रमुख लक्ष्मी कुमारी चौधरी तथा वडा नं. ४ का वडा अध्यक्ष विष्णु प्रसाद मैनालीले कृषिको व्यावसायीकरण, महिला सशक्तीकरण र स्थानीय उत्पादन वृद्धिमा यस्ता तालिमको महत्त्वबारे मन्तव्य व्यक्त गर्नुभएको थियो।
आयोजकका अनुसार तालिममा सहभागी २५ जना महिलालाई सामूहिक तरकारी खेती सञ्चालन तथा प्रोत्साहनका लागि प्रतिव्यक्ति २६ हजार रुपैयाँ बराबरको सहयोग उपलब्ध गराइनेछ। उक्त सहयोगले महिलाहरूलाई व्यावसायिक कृषि व्यवसायतर्फ आकर्षित गर्न तथा आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
पाँच दिनसम्म सञ्चालन हुने तालिममा सहभागीहरूलाई तरकारी खेतीको आधुनिक प्रविधि, बीउ छनोट, नर्सरी व्यवस्थापन, रोग तथा कीरा नियन्त्रण, मलखादको उचित प्रयोग, उत्पादन व्यवस्थापन तथा बजारिकरण सम्बन्धी ज्ञान र सीप प्रदान गरिने आयोजकले जनाएको छ।
तालिमबाट सहभागी महिलाहरूको उत्पादन क्षमता वृद्धि भई आर्थिक अवस्था सुधार हुने अपेक्षा गरिएको छ। कार्यक्रम अध्यक्ष ललितनारायण चौधरीले उद्घाटन सत्रको समापन गर्नुभएको थियो। भने कार्यक्रम संचालन संस्थाका सचिव तथा नेपाल पत्रकार महासंघ बारा कार्यसमिति सदस्य रेडियो पातालगंगाका संचालक धिरेन्द्र पनुहरले गर्नु भएको थियो ।






