नवीन चौधरी, कोल्हबी । कोल्हवी नगरपालिका वडा नम्बर ५ कार्यालयले सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रमण गरी बनाइएका घर, टहरा तथा अन्य संरचना हटाउन १५ दिनको अल्टिमेटम दिएको छ।
वडा कार्यालयले जारी गरेको सूचनामा नेपाल सरकारको निर्देशनअनुसार सार्वजनिक जग्गा संरक्षण अभियान सञ्चालन भइरहेको उल्लेख गर्दै वडा भित्रका सार्वजनिक जमिनमा कुनै पनि किसिमको अवैध संरचना निर्माण नगर्न स्पष्ट चेतावनी दिइएको छ। यसअघि निर्माण भइसकेका घरटहरा तथा संरचनाहरू सम्बन्धित व्यक्तिले आफैं १५ दिनभित्र हटाउनुपर्ने बताइएको छ।




तोकिएको समयसीमा भित्र अटेर गरेमा वडा कार्यालयले प्रहरीको सहयोगमा त्यस्ता संरचना बलपूर्वक हटाउने, लागत असुल गर्ने तथा सम्बन्धित व्यक्तिमाथि कानुनी कारबाही अघि बढाइने चेतावनी दिइएको छ।
यसैगरी सार्वजनिक स्थान अतिक्रमण गर्ने, सडक छेउ टहरा बनाउने, जथाभावी फोहोर फाल्ने तथा सार्वजनिक स्थानको दुरुपयोग गर्ने व्यक्तिहरूमाथि कडा निगरानी गरिने जनाइएको छ। यस्ता गतिविधिमा संलग्न भेटिएमा वडा कार्यालयबाट पाइने सेवा–सुविधा र सिफारिस समेत रोक्का गरिने सूचनामा उल्लेख छ।
वडा कार्यालयले सार्वजनिक सम्पत्तिको संरक्षणमा सहयोग गर्न स्थानीयवासीलाई आग्रह गर्दै नियम उल्लंघन नगर्न सबैलाई सचेत गराएको छ। 




