कोल्हबी, बारा । बारा जिल्लाको कोल्हबी नगरपालिका–५ बोधबनमा मधेस प्रदेश सरकारको २५ लाख रुपैयाँ बजेटबाट सञ्चालित सडक स्तरोन्नति योजना विवादमा परेको छ।
स्थानीयवासीले सडक निर्माण कार्य मापदण्डअनुसार नभएको आरोप लगाउँदै काम रोकेपछि मात्रै सम्बन्धित पक्षले नापजाँच गरेको भन्दै असन्तुष्टि जनाएका छन्।
महेन्द्र राजमार्गसँग जोडिने उक्त सडकमा ४ मिटर चौडाइको ढलान गरिएको छ। तर स्थानीय तथा जानकारहरूका अनुसार ४ मिटर चौडाइको सडक ढलानका लागि कम्तीमा ५ मिटर चौडाइको बेस आवश्यक पर्ने भए पनि सो मापदण्ड पालना नगरिएको दाबी गरिएको छ।




गत मंगलबार स्थानीयवासीले सडकको चौडाइ पर्याप्त नभएको भन्दै निर्माण कार्य रोकेका थिए। त्यसपछि वडा अध्यक्ष नन्दकिशोर चौधरीको रोहबरमा गरिएको नापजाँचका क्रममा केही स्थानमा सडकको चौडाइ ४ मिटरभन्दा करिब २ इन्च कम रहेको पाइएको स्थानीयको भनाइ छ।
प्रत्यक्षदर्शी झप्पु चौधरी र जोगिन्द्र मुखियाका अनुसार सडकको बेस निर्माणमा समेत आवश्यक गुणस्तर कायम नगरिएको आरोप छ। उनीहरूले एक टिप्पर ग्राभेल प्रयोग गरेर करिब ३०० मिटर सडकको बेस बनाइएको दाबी गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोल्हबी नगर समितिका कोषाध्यक्ष सारजङ्ग (उत्तम) थापाले सडक निर्माणअघि स्थानीयसँग आवश्यक छलफल र समन्वय नगरी योजना अघि बढाइएको बताए। उनका अनुसार उपभोक्ता समिति र प्राविधिकबीच पर्याप्त पारदर्शिता नहुँदा योजना विवादमा परेको हो।
निर्माण पक्षले भने सडक छेउमा रहेका पोखरीका कारण सडक चौडा बनाउन समस्या भएको जनाएको छ। ठेकेदार बालेश्वर चौधरी र उपभोक्ता समिति अध्यक्ष बलराम अधिकारीका अनुसार केही जग्गाधनीले आवश्यक जग्गा उपलब्ध नगराएका कारण ४ मिटर चौडाइको स्टिमेट तयार गरिएको हो।
तर सडक छेउका जग्गाधनी झप्पु चौधरी र जङ्गबहादुर साहले भने विकास निर्माणका लागि आफूहरू जग्गा दिन तयार रहेको बताएका छन्। उनीहरूले आफूहरूसँग पूर्वसमन्वय नै नगरिएको दाबी गरेका छन्।
विवाद बढ्दै गएपछि स्थानीयवासीले सामूहिक निवेदनमार्फत सडकको चौडाइ तथा स्टिमेट पुनः संशोधन गर्न माग गरेका छन्। स्थानीयको मागअनुसार आवश्यक प्रक्रिया पूरा गरी निवेदन प्राप्त भए नगरपालिकाले पुनः प्राविधिक मूल्याङ्कन गरी सोहीअनुसार स्टिमेट संशोधन गर्न सकिने जनाएको छ।
वडा अध्यक्ष नन्दकिशोर चौधरीले जनताको अपेक्षा र प्राविधिक मापदण्डअनुसार काम नभए योजना सम्पन्न भएको सिफारिस नदिने स्पष्ट पारेका छन्।
यता उपभोक्ता समितिका सचिव अजय साहले आवश्यक परे सडकको दुवैतर्फ थप ढलान गरेर चौडाइ विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्। तर स्थानीय तथा निर्माण क्षेत्रमा अनुभव भएका गौरी सिंहले पछि टुक्राटुक्रा रूपमा थप ढलान गर्दा संरचनात्मक रूपमा कमजोर हुन सक्ने र सडकको केही भाग पोखरीतर्फ खस्ने जोखिम रहने बताएका छन्।






