नवीन चौधरी, कोल्हबी । बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नं. ३ मा प्रदेश सरकारको बजेटबाट सञ्चालित जुगवा देखि प्रसौना जाने सडक स्तरोन्नति योजनामा गुणस्तर र पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ।
सडकमा मापदण्डअनुसार ग्रावेल नहालिएको तथा निर्माण सम्पन्न भइसकेको दाबी गरिए पनि सडकमा घाँससमेत देखिने अवस्थाले योजनाको गुणस्तरमाथि स्थानीयले शंका व्यक्त गरेका छन्।
स्थानीयका अनुसार उक्त सडकमा पर्याप्त मात्रामा ग्रावेल हालिनुपर्ने भए पनि निकै कम सामग्री प्रयोग गरिएको छ। जसका कारण सडकको सतह पूर्ण रूपमा ढाकिन नसकी विभिन्न स्थानमा घाँस देखिने अवस्था रहेको उनीहरूको भनाइ छ। निर्माण कार्यको अवस्थाले विकास निर्माणभन्दा पनि बजेट सक्ने उद्देश्यलाई प्राथमिकता दिइएको जस्तो देखिएको स्थानीयहरूको आरोप छ।




स्थानीय बासिन्दाले सडक स्तरोन्नति योजनामा तोकिएको मापदण्डअनुसार काम नभएको दाबी गरेका छन्। उनीहरूका अनुसार सडकको मोटाइ र चौडाइसमेत प्राविधिक मापदण्डअनुसार कायम नगरिएको हुन सक्ने आशंका छ, जसको प्राविधिक परीक्षण आवश्यक रहेको उनीहरूको माग छ।
यस योजनालाई लिएर वडा नं. ३ का वडा अध्यक्ष किसुन दयाल चौधरी माथिसमेत प्रश्न उठ्न थालेको छ। चौधरी नगरस्तरीय अनुगमन समितिका सदस्यसमेत रहेकाले अनुगमनको जिम्मेवारीमा रहेका व्यक्तिको वडामै यस्ता आरोप आउनु गम्भीर विषय भएको स्थानीयको भनाइ छ।
एक स्थानीयले भने, “सडकमा यति कम ग्रावेल हालिएको छ कि घाँससमेत पुरिन सकेको छैन। काम हेर्दा विकासभन्दा बजेट हजम गर्ने खेल जस्तो देखिन्छ। जनताको पैसाको सही उपयोग भएको छ कि छैन भन्ने विषयमा छानबिन हुनुपर्छ।”
स्थानीयले योजनाको प्राविधिक परीक्षण, खर्चको लेखापरीक्षण तथा निर्माण प्रक्रियाको निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। साथै योजनामा कमजोरी भेटिए जिम्मेवार व्यक्ति र पक्षमाथि कानुनी कारबाही गर्नुपर्ने आवाजसमेत उठ्न थालेको छ।
यस विषयमा प्रतिक्रिया लिन वडा अध्यक्ष किसुन दयाल चौधरीसँग मोबाइल फोनमार्फत सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेन। उनको धारणा प्राप्त भएपछि समाचार अद्यावधिक गरिनेछ।
स्थानीय तहमा विकास निर्माणका योजनामाथि बारम्बार प्रश्न उठिरहेका बेला कोल्हबी–३ को यो सडक योजना पनि विवादको केन्द्रमा पुगेको छ। अब सम्बन्धित निकायले वास्तविक अवस्था सार्वजनिक गर्दै जनचासोको विषय बनेको यो योजनाको निष्पक्ष छानबिन गर्ने अपेक्षा गरिएको छ।






