नवीन चौधरी, कोल्हबी । १६औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत करातेको एकल काता विधामा बाराको कोल्हबी नगरपालिका–१ का सुलभ चौधरीले स्वर्ण पदक जित्दै नगरको शिर उच्च बनाएका छन्।
काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा बिहीबार सम्पन्न फाइनल प्रतिस्पर्धामा सुलभले कोशी प्रदेशका प्रतिस्पर्धीलाई ४–१ को अन्तरले पराजित गर्दै स्वर्ण पदक आफ्नो नाम गरेका हुन्। प्रतियोगिताभर उत्कृष्ट लयमा देखिएका उनले एकल काता विधामा आफ्नो प्रतिभा र दक्षता प्रदर्शन गर्दै उपाधि जित्न सफल भएका हुन्।




अडसे इन्टरनेशनल एकेडेमी, काठमाडौँमा कक्षा ७ मा अध्ययनरत ११ वर्षीय सुलभ वडा नम्बर १ का वडा अध्यक्ष राजहरण चौधरीका नाति तथा सरोज चौधरीका सुपुत्र हुन्। प्रशिक्षक राजेन्द्र कुमार ओझाको प्रशिक्षणमा उनले प्रतियोगितामा सहभागिता जनाएका थिए।
स्वर्ण पदकसम्मको यात्रामा सुलभले क्वार्टरफाइनलमा मधेस प्रदेशका खेलाडीलाई ५–० तथा सेमिफाइनलमा गण्डकी प्रदेशका प्रतिस्पर्धीलाई पनि ५–० को फराकिलो अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए। फाइनलमा समेत उत्कृष्ट प्रदर्शन गर्दै उनले कोशी प्रदेशका खेलाडीमाथि ४–१ को जित निकाले।
विद्यालयस्तरको देशकै प्रतिष्ठित प्रतियोगितामा एकल काता विधामा स्वर्ण पदक जितेपछि कोल्हबी नगरवासी, खेलप्रेमी, प्रशिक्षक तथा विभिन्न संघसंस्थाले सुलभलाई बधाई तथा शुभकामना दिएका छन्। उनको यो उपलब्धिले कोल्हबी नगरपालिकासहित बागमती प्रदेशको खेलकुद क्षेत्रमा नयाँ उत्साह थपेको छ।






