नवीन चौधरी, बारा । “सरकारी कर्मचारी राजनीतिबाट टाढा बस्नुपर्छ” भन्दै सार्वजनिक रूपमा भाषण गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको विस्तारित बैठकमै सरकारी कर्मचारी खुलेआम झगडामा उत्रिएको घटना बाहिरिएको छ ।
कलैयास्थित करणराज पार्टी प्यालेसमा आयोजित बैठकमा पार्टीभित्रको आन्तरिक विवाद चर्किँदा निजगढ नगरपालिकाको पशु स्वास्थ्य विभागमा कार्यरत कर्मचारी निर्मल कुमार यादव समेत कार्यकर्तासँग भनाभन र झगडामा उत्रिएको आरोप लागेको हो ।
पार्टीभित्र पुराना कार्यकर्तालाई पाखा लगाएर नयाँ समूहलाई अगाडि ल्याउन खोजिएको भन्दै असन्तुष्ट पक्ष आक्रोशित बनेपछि बैठकस्थल केही समय रणभूमिजस्तै बनेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । चर्को नाराबाजी, धकेलाधकेल र झण्डै हात हालाहालको अवस्था सिर्जना भएपछि कार्यक्रम अस्तव्यस्त बनेको थियो ।




सोही क्रममा सरकारी कर्मचारी निर्मल कुमार यादव सक्रिय रूपमा विवादमा उत्रिएको देखिएको भन्दै कार्यकर्ताहरूले आक्रोश व्यक्त गरेका छन् । “सरकारी जागिर खाने मान्छे पार्टीको आन्तरिक झगडामा किन उत्रियो ?” भन्दै केही कार्यकर्ताले खुलेर प्रश्न उठाएका थिए ।
विवादको केन्द्रमा जिल्ला सभापति चन्दन सराफ स्वर्णकारमाथि गरिएको कारवाही तथा निष्कासन सिफारिस रहेको बताइएको छ । उक्त निर्णय विधि र विधान मिचेर गरिएको भन्दै असन्तुष्ट समूहले सांसद तथा नेताविरुद्ध नै नाराबाजी गरेका थिए ।
बैठकमा “एकलौटी शासन बन्द गर”, “पुराना कार्यकर्ताको अपमान सहन्नौं” जस्ता नाराले हल नै तातेको थियो । विवाद बढेपछि नेताहरूले स्थिति नियन्त्रणमा लिन खोजे पनि कार्यकर्ताबीचको आक्रोश रोक्न कठिन परेको स्रोतको दाबी छ ।
रास्वपाले सार्वजनिक रूपमा सुशासन, विधि र नैतिकताको कुरा गर्दै आएको भए पनि आफ्नै बैठकमा सरकारी कर्मचारीको राजनीतिक सक्रियता र झगडाले पार्टीभित्रको दोहोरो चरित्रमाथि गम्भीर प्रश्न उठाएको छ ।
यस घटनाबारे पार्टी नेतृत्व तथा कर्मचारी निर्मल कुमार यादवको औपचारिक प्रतिक्रिया भने अझै आएको छैन । सम्पर्क गर्दा वहाँको मोबाइल नम्बर बन्द गरिएको थियो ।






