नवीन चौधरी, कोल्हबी । बाराको कोल्हबी नगरपालिका वडा नम्बर ८ अन्तर्गत नयाँबस्ती क्षेत्रमा सडक स्तरोन्नति कार्य सुरु भएसँगै स्थानीय आवश्यकताअनुसार आगामी योजनाहरू सञ्चालन गरिने जनप्रतिनिधिहरूले बताएका छन्।
गाउँ तथा वन सीमाना हुँदै काट नदी पार गरेर जितपुरसिमरा–१७ रामनगर जोड्ने सडकको सुधार कार्य हाल संघीय अनुदानमार्फत अगाडि बढाइएको हो।




वर्षौंदेखि प्रयोगमा रहेको उक्त सडक जीर्ण बन्दै गएपछि स्थानीयवासीले पटक–पटक स्तरोन्नतिको माग गर्दै आएका थिए। वर्षायाममा हिलाम्मे हुने, सवारी सञ्चालन तथा पैदल यात्रा कठिन हुने समस्याका कारण स्थानीय जनजीवन प्रभावित हुँदै आएको थियो। हाल २५ लाख रुपैयाँको बजेटमार्फत सडक स्तरोन्नति तथा ढलान कार्य सुरु भएपछि स्थानीयमा उत्साह थपिएको छ।
स्थानिय समाजसेवी रबिन्द्र चौधरीका अनुसार सडक गाउँका किसान, विद्यार्थी, बिरामी तथा सर्वसाधारणका लागि अत्यन्त आवश्यक पूर्वाधार हो। सडक निर्माण सम्पन्न भएपछि दैनिक आवतजावत सहज हुनुका साथै कृषि उत्पादन ढुवानीमा समेत राहत पुग्ने अपेक्षा गरिएको छ।
वडा अध्यक्ष अनुप सुवेदीले प्राप्त बजेट तोकिएको शीर्षकअनुसार खर्च गर्नुपर्ने भएकाले सडक निर्माणलाई प्राथमिकतामा राखिएको बताए। उनले आगामी दिनमा स्थानीय जनसमुदायको आवश्यकता र मागलाई आधार बनाएर अन्य विकास योजनाहरू पनि सञ्चालन गरिने जानकारी दिए।
नगर प्रमुख रामप्रसाद चौधरीले आगामी आर्थिक वर्षमा अधुरा योजनाहरूलाई निरन्तरता दिँदै कृषि, सडक, सिँचाइ तथा जनजीवनसँग प्रत्यक्ष जोडिएका योजनालाई प्राथमिकता दिने बताए। उनका अनुसार जनताको सुझाव र आवश्यकता अनुसार योजना छनोट गर्ने नीति पालिकाले अघि बढाउनेछ।
स्थानीय अगुवाहरूले सडक स्तरोन्नतिले कोल्हबी क्षेत्र र जितपुरसिमरा उपमहानगरपालिकाबीचको सम्पर्क अझ सहज बनाउने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार विकास योजनाहरू जनताको आवश्यकता अनुसार सञ्चालन भए मात्रै स्थानीयस्तरमा वास्तविक परिवर्तन सम्भव हुने बताएका छन्।






