नवीन चौधरी, कोल्हबी । बाराको कोल्हवी नगरपालिका वडा नम्बर ५ बोधवनमा दर्ता भई वडा नम्बर ८ स्थित बेलवा बजारबाट सञ्चालन हुँदै आएको परोपकार कृषि सहकारी संस्था लिमिटेड माथि आर्थिक हिनामिना, अपचलन तथा मिटर ब्याजसँग सम्बन्धित गम्भीर आरोप सार्वजनिक भएका छन्।
स्थानीय स्रोतका अनुसार सहकारीका प्रवन्धक अशोक कुमार सिंह सहकारीकै हिसाब हिनामिना तथा रकम अपचलन सम्बन्धी अभियोगमा यसअघि प्रहरी चौकीमा समेत बसिसकेको जानकारी प्राप्त भएको छ। यद्यपि, यस विषयमा प्रहरी तथा सम्बन्धित निकायबाट औपचारिक पुष्टि भने हुन बाँकी रहेको बताइएको छ।




त्यसैगरी, एक स्थानीय स्रोतले मिटर ब्याज कारोबारमा संलग्न भनिएका अजय कुमार सहनीको सहकारीमा ठूलो प्रभाव रहेको दाबी गरेको छ। स्रोतका अनुसार सहनीको कथित “कालो धन” समेत सहकारीमार्फत सेतो बनाउने काम भइरहेको आरोप स्थानीय स्तरमा उठ्न थालेको छ।
मिटर ब्याजका कारण स्थानीय बिनोद चौधरी, सुरेन्द्र चौधरी, सन्जय चौधरी, प्रभाकर साह लगायतका व्यक्तिहरू आर्थिक रूपमा पीडित बनेको दाबी गरिएको छ। पीडित पक्षका अनुसार चर्को ब्याजदर, निरन्तर आर्थिक दबाब र असुलीका कारण धेरै परिवार विस्थापित हुने अवस्थामा पुगेका छन्।
स्थानीय स्रोतले बिनोद चौधरी र सुरेन्द्र चौधरीले ऋण तिर्नकै लागि आफ्नो घर तथा खेतसमेत बेच्नुपरेको जानकारी दिएको छ। आर्थिक समस्याले उनीहरूको परिवार गम्भीर संकटमा परेको बताइएको छ।
स्थानीयवासीहरूले सहकारीको सम्पूर्ण आर्थिक कारोबार, ऋण लगानी प्रक्रिया तथा मिटर ब्याजसँग जोडिएका आरोपबारे निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। साथै, सहकारीको नाममा अवैध आर्थिक गतिविधि भएको भए
दोषीमाथि कानुनअनुसार कारबाही हुनुपर्ने उनीहरूको भनाइ छ।
यस विषयमा परोपकार कृषि सहकारी संस्था लिमिटेड तथा आरोपित पक्षको आधिकारिक प्रतिक्रिया भने प्राप्त हुन सकेको छैन। प्रतिक्रिया आए पछि अर्को समाचारमा समावेश गरिने छ ।






