रूपेश यादव । रौतहटको देवाही गोनाही नगरपालिका–७ स्थित श्री आधारभूत विद्यालय उचिडिहमा चार कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ।
सोमबार आयोजित एक कार्यक्रमबीच नगर प्रमुख प्रेमलाल साह र उपप्रमुख परनिया देवी पटेल ले संयुक्त रूपमा भूमि पूजन गर्दै भवनको शिलान्यास गर्नुभएको हो।




संघ, प्रदेश तथा स्थानीय तहको साझेदारीमा निर्माण हुन लागेको उक्त भवनको कुल लागत ६२ लाख रुपैयाँ रहेको विद्यालयका प्रधानाध्यापक मुक्ति प्रसाद कुशवाहाले जानकारी दिनुभयो। उहाँका अनुसार भवन निर्माणपछि विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।
शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख प्रेमलाल साहले आफू निर्वाचित भएपछि नगरपालिकाका दुई वटा वडामा माध्यमिक विद्यालय सञ्चालनमा ल्याउन सफल भएको बताउनुभयो। उहाँले विद्यालयको विकास र स्तरोन्नतिका लागि प्रधानाध्यापक मुक्ति प्रसाद कुशवाहाले पुर्याएको योगदान अत्यन्त प्रशंसनीय रहेको उल्लेख गर्नुभयो।
नगर प्रमुख साहले प्रधानाध्यापक कुशवाहाले केवल प्रशासनिक जिम्मेवारी मात्र नभई अभिभावकको भूमिकासमेत निर्वाह गर्दै विद्यालयको उन्नयनमा महत्वपूर्ण योगदान दिएको भन्दै विशेष धन्यवाद व्यक्त गर्नुभयो। त्यसैगरी प्रधानाध्यापक मुक्ति प्रसाद कुशवाहाले विद्यालय प्राथमिक तहमा रहेका बेला आफूले जिम्मेवारी सम्हाल्दै आधारभूत हुँदै हाल माध्यमिक तहसम्म पुर्याउन सफल भएको बताउनुभयो।
स्थानीय र अभिभावकहरुकाे साथ सहयोगमा बिद्यालयलाई यहाँ सम्म ल्याउन सफल भएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरबल प्रसाद कुशवाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय बुद्धिजीवी, भद्रभलादमी, अभिभावक तथा पत्रकारहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।






