कलैया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला संगठन निर्माण विशेष समितिले जिल्लाभरका सबै संगठनात्मक गतिविधि स्थगित गर्ने निर्णय गरेको छ।
समितिको २०८३ जेठ १ गते बसेको बैठकले बारा जिल्लाअन्तर्गतका सबै वडा, पालिका तथा निर्वाचन क्षेत्रस्तरीय पार्टीका संगठनात्मक गतिविधि (सदस्यता वितरण बाहेक) अर्को निर्णय नभएसम्म स्थगित गर्ने निर्णय गरेको हो।




समितिले बारामा देखिएका संगठनात्मक समस्या समाधान तथा आवश्यक समन्वयका लागि विस्तारित बैठक आयोजना गर्ने जनाएको छ। उक्त बैठकमा पार्टीका संघीय सांसद, केन्द्रीय समिति, प्रदेश समिति तथा विभागका पदाधिकारी एवं सदस्य, जिल्ला समिति, निर्वाचन क्षेत्र समितिका सभापति, वडा तथा पालिका समितिका पदाधिकारीसहित प्रतिनिधिहरू सहभागी हुने बताइएको छ।
सूचनाअनुसार विस्तारित बैठक आगामी जेठ ९ गते शनिबार बिहान ११ बजे कलैयास्थित करण राज प्यालेसमा आयोजना गरिनेछ। बैठक सम्पन्न भई आवश्यक निर्णय नभएसम्म अन्य संगठनात्मक गतिविधि सञ्चालन नगर्न/नगराउन पनि समितिले आग्रह गरेको छ।
कुनै जिज्ञासा, सुझाव तथा समन्वयका लागि बारा जिल्ला संगठन निर्माण विशेष समितिका सदस्य प्रदीप तिमल्सिना (राजन) लाई सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।
उक्त सूचना बारा जिल्ला संगठन निर्माण विशेष समितिकी संयोजक कामिनी चौधरीद्वारा जारी गरिएको हो। 






