ढल्केबर । धनुषामा पहिचान खुल्न नसकेको एक जना तेस्रो लिङ्गी व्यक्ति मृत अवस्थामा फेला परेका छन्। जनकपुर–यदुकाहा सडकखण्ड अन्तर्गत बेलौनी र पौडेश्वरको बीच भागमा बुधबार शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीका अनुसार स्थानीयले खबर गरेपछि टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक निरीक्षणका क्रममा शरीरमा अन्य घाउचोट नदेखिए पनि घाँटीमा निलडाम भेटिएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता गणेश बमका अनुसार शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। घटनास्थलबाट मुचुल्का उठाउने तथा आवश्यक प्रमाण सङ्कलन गर्ने काम जारी रहेको उनले जानकारी दिए।
मृत्युको कारण र घटनाको प्रकृतिबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।