कलैया । कटहरिया बजारस्थित त्रीशक्ति बोर्डिङ स्कुलमा अध्ययनरत तीन जना बालक हराएको घटनाले स्थानीय क्षेत्रमा चिन्ता बढाएको थियो। तर, बुधबार दिउँसो उनीहरू गौर बसपार्कमा सकुशल फेला परेपछि परिवार तथा स्थानीयवासीले राहतको सास फेरेका छन्।
कक्षा ५ मा अध्ययनरत १४ वर्षीय सकील अन्सारी, १४ वर्षीय कुन्दन साह सोनार र १२ वर्षीय पवन कुमार दास सरभंग सोमबार विद्यालयबाट घर फर्किएपछि खेल्न जाने भन्दै निस्किएका थिए। त्यसपछि उनीहरू सम्पर्कविहीन बनेका थिए।




बालकहरू लामो समयसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए भने प्रहरीले पनि उनीहरूको खोजतलास तीव्र बनाएको थियो। खोजीकै क्रममा एक आफन्तले उनीहरूलाई गौर बसपार्क क्षेत्रमा भेटाएका हुन्।
फेला परेपछि बालकहरूले आफूहरू कसैको प्रलोभनमा नपरी स्वेच्छाले सीमावर्ती भारतीय बजार बैरगनिया घुम्न गएको बताएका छन्। उनीहरूले दुई रात बैरगनियाको रेलवे स्टेसनमा बिताएर फर्किएको जानकारी दिएका छन्।
एकैपटक तीन बालक हराएपछि कटहरिया क्षेत्रमा त्रास र विभिन्न अड्कलबाजी फैलिएको थियो। तर उनीहरू सुरक्षित अवस्थामा भेटिएसँगै स्थानीयमा खुशी छाएको छ।






