कलैया । मधेश प्रदेश लोक सेवा आयोगले बाराको फेटा गाउँपालिकामा कार्यरत रहँदा निमित्त प्रशासकीय अधिकृत वीरबहादुर साह लहेराको गरिएको आठौं तह स्तरवृद्धिबारे छानबिन गर्न सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको छ।
आयोगले २०८३ जेठ १९ गते जारी गरेको पत्रमार्फत स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ विपरीत तह मिलान तथा तहवृद्धि गरिएको गुनासो आएपछि आवश्यक अनुसन्धान गर्न निर्देशन दिएको हो। पत्रको बोधार्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखापरीक्षकको कार्यालय तथा अख्तियारको बर्दिबास कार्यालयलाई समेत पठाइएको जनाएको छ।




प्राप्त विवरणअनुसार लोक सेवा आयोगबाट २०७६ सालमा छैटौं तहमा नियुक्त भएका लहेरालाई फेटा गाउँपालिकाले २०८१ असोज १३ गते सातौं तहमा तह मिलान गरेको थियो। त्यसको करिब अढाई महिनापछि २०८१ पुस १ गते पुनः आठौं तहमा स्तरवृद्धि गरिएको थियो।
प्रदेश ऐनअनुसार तहवृद्धिका लागि कम्तीमा तीन वर्ष सेवा अवधि र पछिल्लो तीन वर्षको कार्यसम्पादन मूल्याङ्कनमा औसत ८० प्रतिशत अंक आवश्यक पर्ने व्यवस्था रहेको छ। तर छोटो अवधिमै गरिएको स्तरवृद्धिलाई लिएर कानुनी प्रश्न उठेपछि आयोगले प्रक्रिया नपुगी गरिएको तहवृद्धि फिर्ता गर्नसमेत निर्देशन दिएको छ।
यता लहेराले भने आफ्नो तहवृद्धि प्रक्रिया कानुनसम्मत रहेको दाबी गरेका छन्। साथै सिम्रौनगढ नगरपालिकामा कार्यरत उनलाई जिम्मेवारीबाट हटाउन स्थानीयले मागसमेत गरेका छन्।






