राजबिराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ मा एक सातादेखि बेपत्ता रहेकी महिलाको शव फेला परेको छ। स्थानीय वीरेन्द्र रायकी ३६ वर्षीया पत्नी अनितादेवी राय मृत अवस्थामा भेटिएकी हुन्।
प्रहरीका अनुसार बुधबार सोही क्षेत्रको ‘नौ किलोमिटर’ भनिने स्थानमा उनको शव फेला परेको हो। शव हात पछाडि फर्काएर र खुट्टा बाँधिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। शव सडिसकेको अवस्थामा रहेकाले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।




अनिता गत बुधबार रातिदेखि सम्पर्कविहीन भएकी थिइन्। उनका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका छन् भने उनी १२ वर्षीया छोरीसँग घरमा बस्दै आएकी थिइन्। बेपत्ता हुनुअघि राति करिब ११ बजेसम्म श्रीमान्सँग फोनमा कुराकानी भएको बताइएको छ।
स्थानीयवासीका अनुसार घटना भएको राति घरको आँगनमा रगतसमेत देखिएको थियो। गाउँमा विवाहको जन्ती गएको मौका पारेर केही व्यक्तिले महिलालाई घरबाटै जबर्जस्ती लगेको हुन सक्ने आशंका गरिएको छ।
प्रहरीले घटनालाई शंकास्पद मृत्युका रूपमा अनुसन्धान अघि बढाएको जनाएको छ।






