कलैया । बारा जिल्लाका केही प्रहरी इकाइले सवारीसाधन सञ्चालनको नाममा स्थानीय तहसँग ईन्धन माग्ने प्रवृत्ति बढेको भन्दै गुनासो सार्वजनिक भएको छ। विशेषगरी सिम्रौनगढ नगरपालिका अन्तर्गत रहेको प्रहरी चौकी खजानीका इन्चार्जमाथि स्थानीय तहसँग पेट्रोल माग गरिएको आरोप लागेको हो।
प्राप्त जानकारीअनुसार प्रहरी चौकी खजानीका प्रहरी सहायक निरीक्षक जयलाल दासले प्रहरी सञ्चारको लेटरप्याड प्रयोग गरी सिम्रौनगढ नगरपालिकालाई सवारीसाधन सञ्चालनका लागि पत्राचार गरेको र सोही क्रममा १० लिटर पेट्रोल लिइएको दाबी गरिएको छ। यस विषयमा स्थानीयस्तरमा चासो बढेको छ।




यता, सरकारले सार्वजनिक खर्च कटौती, सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्दै स्थानीय तहसँग अनावश्यक आर्थिक तथा सामग्री सहयोग नलिन विभिन्न निकायलाई निर्देशन दिँदै आएको छ। गृह मन्त्रालयबाट समेत यस्ता विषयमा मितव्ययिता अपनाउन र स्थानीय तहमा अनावश्यक भार नपार्न आग्रह गरिएको बताइन्छ।
तर, केही मातहतका प्रहरी इकाइहरूले सवारीसाधन मर्मत, ईन्धन खर्चलगायत शीर्षकमा स्थानीय तहसँग सहयोग माग्ने पुरानै शैली नत्यागेको आरोप लागेको छ। इलाका प्रहरी कार्यालय कवही गोठ मातहतका केही प्रहरी अधिकृतमाथि समेत स्थानीय तहसँग यस्ता माग राख्ने प्रवृत्ति रहेको स्थानीय स्रोतको दाबी छ।
एकातर्फ सरकारले सुशासन र पारदर्शितालाई जोड दिइरहेको अवस्थामा प्रहरी संगठनभित्रै सरकारी नीति र निर्देशनविपरीत गतिविधि भइरहेको हो कि भन्ने प्रश्न उठ्न थालेको छ। स्थानीय तहसँग ईन्धन तथा मर्मत खर्च मागिएको विषय सत्य भए सम्बन्धित निकायले छानबिन गरी आवश्यक कदम चाल्नुपर्ने स्थानीयको माग रहेको छ।



