नवीन चौधरी, कोल्हबी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्ला समिति विघटन गरेको छ। पार्टीको केन्द्रीय सचिवालय बैठकले प्रदेश समितिको सिफारिसका आधारमा बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको हो।
आइतबार बसेको सचिवालय बैठकपछि पार्टीका प्रवक्ताले संगठन पुनर्संरचनाको उद्देश्यसहित बारा जिल्ला समिति विघटन गरिएको जानकारी दिएका छन्। पार्टीभित्र संगठनलाई थप प्रभावकारी, चलायमान तथा आगामी राजनीतिक कार्यदिशाअनुसार अघि बढाउन पुनर्गठन आवश्यक रहेको निष्कर्ष निकालिएको जनाइएको छ।




रास्वपाले अब बारा जिल्लामा नयाँ जिल्ला समिति गठन प्रक्रिया अघि बढाउने तयारी गरेको छ। यसका लागि जिल्ला अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिने बताइएको छ। पार्टीले वडा, पालिका तथा जिल्ला तहसम्म संगठन विस्तार र सुदृढीकरण अभियानलाई समेत तीव्र बनाउने तयारी गरेको जनाएको छ।
जिल्ला समिति विघटनसँगै बारामा रास्वपाभित्र नयाँ नेतृत्वको चर्चा सुरु भएको छ। पुराना नेतृत्वको समीक्षा गर्दै सक्रिय र नयाँ अनुहारलाई जिम्मेवारी दिने सम्भावनासमेत रहेको पार्टी स्रोतले जनाएको छ।
राजनीतिक वृत्तमा भने रास्वपाको यो निर्णयलाई संगठन सुदृढीकरण तथा आगामी निर्वाचनलाई लक्षित रणनीतिक कदमका रूपमा हेरिएको छ। बारा जिल्लामा पछिल्लो समय रास्वपाले आफ्नो प्रभाव विस्तार गर्ने प्रयास गरिरहेका बेला समिति विघटन र पुनर्गठनको निर्णयलाई अर्थपूर्ण रूपमा लिइएको छ।



