वीरगञ्ज । विद्यालयमा लागू गरिएको आइतबारको अतिरिक्त बिदा खारेज गर्न माग गर्दै पर्साका अभिभावकहरूले प्रशासन समक्ष आवाज उठाएका छन् ।
अभिभावक संघ पर्साले बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन शाखामा ज्ञापनपत्र बुझाउँदै आइतबारको बिदाले विद्यार्थीको पढाइ कमजोर बन्दै गएको दाबी गरेको हो ।
संघले लगातार दुई दिन विद्यालय बन्द हुँदा विद्यार्थीहरूको नियमित अध्ययन प्रभावित भएको, पाठ्यक्रम समयमै सम्पन्न गर्न कठिनाइ उत्पन्न भएको तथा विद्यालयको शैक्षिक अनुशासनमा समेत असर परेको उल्लेख गरेको छ ।




अभिभावकहरूको भनाइ अनुसार अतिरिक्त बिदाका कारण धेरै विद्यार्थी मोबाइल, टेलिभिजन र सामाजिक सञ्जालमा बढी समय बिताउन थालेका छन् । यसले अध्ययनप्रतिको रुचि घटाउँदै लैजानुका साथै बालबालिकाको दैनिकी समेत अव्यवस्थित बन्दै गएको उनीहरूको गुनासो छ ।
ज्ञापनपत्रमा शिक्षा नियमावलीअनुसार विद्यालय कम्तीमा २२० दिन सञ्चालन हुनुपर्ने व्यवस्था स्मरण गराउँदै अनावश्यक बिदाले शैक्षिक गुणस्तर खस्किने खतरा बढेको उल्लेख गरिएको छ । संघले आइतबारको बिदा पुनर्विचार गरी नियमित पठनपाठनलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ ।
ज्ञापनपत्र बुझाउन संघका अध्यक्ष सन्दिप साहको नेतृत्वमा कोषाध्यक्ष कन्हैया पटेलसहित अरविन्द वर्णमाला, रविन्द्र गुप्ता, नरेन्द्र तिवारी, सुबोध यादव, हरेन्द्र तिवारी र धिरेन्द्र तिवारीलगायत सहभागी थिए ।
अभिभावक संघले विद्यार्थीको भविष्य सुरक्षित गर्न, पढाइमा निरन्तरता कायम राख्न र शैक्षिक वातावरण सुधार गर्न आइतबारको बिदा कटौती आवश्यक रहेको जनाएको छ ।




