नवीन चौधरी, कोल्हबी । निजगढ नगरपालिकाभित्र वर्षौंदेखि बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीमाथि डोजर चलाउने सरकारी तयारीको विरोधमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निजगढ नगर समितिले समेत ऐक्यबद्धता जनाएको छ।
पार्टीद्वारा जारी ऐक्यबद्धता–पत्रमा सरकार नागरिकको अभिभावक हुनुपर्नेमा उल्टै वर्षौंदेखि बसोबास गर्दै आएका गरिब तथा सुकुम्वासी समुदायमाथि राज्य आतंक सिर्जना गरिएको आरोप लगाइएको छ। विज्ञप्तिमा “गरिबी हटाउने नाममा गरिब नै हटाउने नीति अपनाइएको” भन्दै सरकारको कदमप्रति गम्भीर असन्तुष्टि व्यक्त गरिएको छ।




नेकपाले वैकल्पिक व्यवस्थाबिनै हजारौं नागरिकमाथि डोजर चलाउने तयारीलाई अमानवीय, अलोकतान्त्रिक तथा संविधानप्रदत्त मौलिक अधिकारमाथिको आक्रमणको संज्ञा दिएको छ। पार्टीले बालबालिका, वृद्धवृद्धा, बिरामी तथा विपन्न समुदायको अवस्थाप्रति सरकारले संवेदनशीलता नदेखाएको समेत आरोप लगाएको छ।
विज्ञप्तिमा सुकुम्वासी बस्तीलाई जबर्जस्ती हटाउने कार्यले नागरिकको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकारमाथि गम्भीर चोट पुगेको उल्लेख गरिएको छ। राज्यले संवाद र व्यवस्थापनको बाटो रोज्नुको सट्टा त्रास र दमनको नीति लिएको भन्दै पार्टीले आपत्ति जनाएको छ।
नेकपाले “रुल अफ ल” को नाममा जनतामाथि दमन गर्न नहुने बताउँदै भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीमाथिको दमन तत्काल रोक्न सरकारसँग माग गरेको छ। साथै समस्या समाधानका लागि वार्ता, सहमति र दीर्घकालीन व्यवस्थापनमार्फत निकास खोज्नुपर्ने धारणा राखिएको छ।
यसैबीच, संयुक्त सुकुम्वासी अव्यवस्थित भूमि संरक्षण संघर्ष समिति, निजगढ बाराले आगामी २०८३ वैशाख २५ गते दिउँसो १२ बजे निजगढ सहिदचोकमा आयोजना गर्न लागेको शान्तिपूर्ण जनप्रदर्शनमा नेपाली कम्युनिस्ट पार्टीले पूर्ण समर्थन रहने जनाएको छ। पार्टीले आफ्ना नेता, कार्यकर्ता तथा समर्थकलाई आन्दोलनमा सहभागी हुन आह्वान समेत गरेको छ। 




