सिरहा । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) गोबिन्द थपलियाले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै सिरहामा सुरक्षा तयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
अनुगमन भ्रमणका क्रममा मंगलबार जिल्ला प्रहरी कार्यालय सिरहा पुगेका डिआइजी थपलियाले कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे। उनले निर्वाचन अवधिमा हुन सक्ने आपराधिक गतिविधि रोक्न अग्रिम रणनीति तयार पार्न, सीमा नाकाहरूमा कडा चेकजाँचको व्यवस्था मिलाउन र प्रहरी परिचालनलाई उच्च सतर्कताका साथ सञ्चालन गर्न निर्देशन दिएका हुन्।
डिआइजी थपलियाले नेपाल प्रहरीको प्रतिष्ठा झल्किने गरी अनुशासित र उच्च कोटीको आचरण प्रदर्शन गर्न समेत जोड दिए। उनले मतदाता, उम्मेदवार र सर्वसाधारणमा सुरक्षाको अनुभूति दिलाउने गरी काम गर्नुपर्ने बताए।
यस्तै, जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सिरेन्द्र पौडेल र डिआइजी थपलियाले निर्वाचनमा खटिने प्रहरी कर्मचारीलाई विशेष प्रशिक्षण पनि दिएका छन्। प्रशिक्षणका क्रममा निर्वाचन आचारसंहिता, मतदान केन्द्रमा अपनाउनुपर्ने सतर्कता, जिम्मेवारी र कार्यक्षेत्रबारे विस्तृत जानकारी गराइएको जनाइएको छ।
सुरक्षा निकायले सिरहामा निर्वाचनलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन आवश्यक सम्पूर्ण तयारी तीव्र पारिएको जनाएको छ।