वीरगन्ज । वीरगन्जमा भन्सार छलीका सामान राखिएको आशंकामा गोदाममा छापा मार्न पुगेको सशस्त्र प्रहरी टोलीमाथि भएको आक्रमण नयाँ भने होइन। पछिल्ला वर्षहरूमा नेपाल–भारत सीमाक्षेत्रमा तस्कर समूहबाट सुरक्षाकर्मीमाथि पटक–पटक आक्रमण हुँदै आएको तथ्यांकले देखाउँछ।
सोमबार वीरगन्ज महानगरपालिका–१० आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको गोदाममा सशस्त्र प्रहरी बल १३ नम्बर गण र भन्सार कार्यालयको संयुक्त टोलीले छापा मारेको थियो। करिब पाँच लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका पाँच पोका कपडा बरामद गरी लोड गर्ने क्रममा तस्कर समूहले आक्रमण गरेको सशस्त्र प्रहरीले जनाएको छ। झडपमा तीन सशस्त्र प्रहरी सामान्य घाइते भएका छन् भने सरकारी गाडीमा समेत क्षति पुगेको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घाइतेहरूको नारायणी अस्पतालमा उपचार भइरहेको छ र अवस्था खतरामुक्त छ। पर्साका प्रहरी प्रमुख एसपी सुदीपराज पाठकले पनि घटनाबारे अनुसन्धान जारी रहेको बताए। उनका अनुसार आक्रमणमा तस्कर समूहसँगै केही स्थानीयसमेत मिसिएको अवस्था थियो, तर सुरक्षाकर्मीले संयमता अपनाएकाले ठूलो क्षति हुन पाएन।
सीमा सुरक्षा तथा वीरगन्ज भन्सारमा कार्यरत डीएसपी विकास अधिकारीले गोदाम खानतलासी गर्ने क्रममा अवरोध भएपछि झडप भएको बताए। बरामद सामान भन्सार कार्यालयलाई बुझाइएको छ। सशस्त्र प्रहरी बलले संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ। गण नम्बर १३ पर्साका प्रवक्ता डीएसपी मोहन निरौलाका अनुसार केही व्यक्तिको पहिचान भइसकेको छ र जिल्ला प्रशासन तथा प्रहरीसँग समन्वय गरेर कारबाही प्रक्रिया सुरु गरिएको छ।
विगतका श्रृंखलाबद्ध घटना
सीमाक्षेत्रमा तस्कर समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको यो पहिलो घटना होइन। २०७८ असोजमा कञ्चनपुरको दोधाराचाँदनी–८ कञ्जभोजनजिकै गस्तीमा खटिएको टोलीमाथि भारतीय तस्कर समूहले आक्रमण गर्दा तीन सशस्त्र प्रहरी घाइते भएका थिए।
२०७७ साउन ४ मा झापाको गौरीगन्ज गाउँपालिका–५ मल्हाटोलीनजिकै १५२ नम्बर पिलर आसपास भएको आक्रमणमा दुई जवान घाइते भएका थिए। त्यसै वर्ष जेठ ३१ मा सर्लाहीको नारायणपुर नाकामा भएको झडपमा सशस्त्र प्रहरीले गोली चलाउँदा एक भारतीयको मृत्यु भएको थियो भने दुवै पक्षका गरी पाँच जना घाइते भएका थिए। जेठ १८ मा सर्लाहीकै पकडीस्थित फेनहरा नाकामा पनि सशस्त्रमाथि आक्रमण भएको थियो।
२०८१ भदौमा सिरहामा मदिरा तस्करी नियन्त्रण गर्न खोज्दा सशस्त्र प्रहरी नायब निरीक्षक लक्ष्मणप्रसाद यादवको ज्यान गएको थियो। कचनारी क्षेत्रमा तस्करीको सामान बोकेको ट्रकले किच्दा उनको मृत्यु भएको हो। त्यसभन्दा एक वर्षअघि सर्लाहीमा भेप बोकेको ट्रक रोक्ने क्रममा भएको आक्रमणमा एक सशस्त्र प्रहरी निरीक्षकको ज्यान गएको थियो।
लगातारका यस्ता घटनाले सीमाक्षेत्रमा तस्करी नियन्त्रणका क्रममा सशस्त्र प्रहरीले सामना गर्नुपरेको जोखिम र चुनौतीलाई थप गम्भीर बनाएको छ। प्रहरीले पछिल्लो घटनामा संलग्नलाई खोजी गरी कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ।