नवीन चौधरी, कोल्हबी। बाराको कोल्हबी क्षेत्रमा सञ्चालनमा रहेको परोपकार कृषि सहकारी संस्था लिमिटेडमाथि आर्थिक अनियमितता, रकम अपचलन, मिटर ब्याज तथा अवैध आर्थिक कारोबारसम्बन्धी आरोपहरू सार्वजनिक भइरहेका बेला संस्थाका प्रवन्धक अशोक कुमार सिंहले सबै आरोप निराधार भएको दाबी गरेका छन् ।
सहकारीविरुद्ध विभिन्न पक्षबाट गम्भीर आरोप उठिरहेका समयमा प्रवन्धक सिंहले आफूहरू कुनै पनि अनुसन्धानबाट नभाग्ने र निष्पक्ष छानबिनमा पूर्ण सहयोग गर्ने बताएका हुन्। उनले आरोप प्रमाणित भए कानुनी सजाय भोग्न तयार रहेको समेत स्पष्ट पारे।




सिंहका अनुसार सहकारीको सम्पूर्ण आर्थिक कारोबार अभिलेख र कानुनी प्रक्रिया अनुसार सञ्चालन हुँदै आएको छ। उनले रकम हिनामिना वा अपचलन गरिएको भन्ने आरोप अस्वीकार गर्दै कसैसँग प्रमाण भए सम्बन्धित निकायमा उजुरी दिन आग्रह गरे।
“हामीमाथि लगाइएका आरोप अनुसन्धानबाट पुष्टि भए कानुनी कारबाही स्वीकार गर्न तयार छौं,” उनले भने, “तर आधारहीन आरोप लगाएर संस्थाको छवि बिगार्ने प्रयास भइरहेको छ।”
आर्थिक अनियमितताको विषयमा आफू प्रहरी चौकीमा बसेको भन्ने चर्चाबारे उनले त्यो सामान्य विवाद समाधानका क्रममा भएको छलफल मात्र रहेको दाबी गरे। कुनै आपराधिक गतिविधिमा संलग्न भएको वा दोषी ठहर भएको अवस्था नरहेको उनको भनाइ छ।
सहकारीको वित्तीय अवस्था नियमित रहेको उल्लेख गर्दै सिंहले वार्षिक लेखापरीक्षण हुँदै आएको र सम्बन्धित निकायमा आवश्यक विवरण बुझाइँदै आएको जानकारी दिए। ऋण लगानी कानुनले तोकेको ब्याजदर र प्रक्रिया अनुसार नै गरिएको उनको दाबी छ।
मिटर ब्याजको कारोबार भइरहेको आरोपलाई उनले “भ्रम फैलाउने प्रयास” भन्दै अस्वीकार गरे। “हामी वैधानिक प्रक्रिया बाहिर गएर ऋण लगानी गर्दैनौं,” उनले भने।
स्थानीय स्तरमा चर्चामा आएको “कालो धन” व्यवस्थापन तथा प्रभावशाली व्यक्तिको संरक्षणमा सहकारी सञ्चालन भएको आरोपबारे पनि उनले असहमति जनाए। संस्था सदस्यहरूको बचत र नियमित वित्तीय कारोबारमा मात्र केन्द्रित रहेको उनको भनाइ छ।
ऋण असुलीका क्रममा केही सदस्यहरू आर्थिक तथा मानसिक दबाबमा परेको दाबीबारे प्रतिक्रिया दिँदै उनले सहकारीले कानुनी प्रक्रिया अनुसार मात्रै काम गरेको बताए। “ऋण लिएपछि तिर्नुपर्ने दायित्व हुन्छ, तर हामीले गैरकानुनी दबाब दिएको छैनौं,” उनले स्पष्ट पारे।
सदस्यहरूले माग गरिरहेको निष्पक्ष छानबिनप्रति सकारात्मक देखिएका सिंहले राज्यका सम्बन्धित निकायबाट हुने अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए। साथै संस्थाको विश्वसनीयता कायम राख्न आगामी दिनमा थप पारदर्शी ढंगले काम गर्ने पनि बताए।
उनले सदस्यहरूसँग नियमित अन्तरक्रिया, वित्तीय विवरण सार्वजनिक तथा संस्थागत सुधारका कार्यक्रम अघि बढाइने जानकारी दिँदै सदस्यहरूको बचत सुरक्षित रहेको दाबी गरे।






