कलैया । बारा जिल्लाको महागढीमाई नगरपालिकाले आफ्नो क्षेत्रभित्र सार्वजनिक जग्गामा बढ्दै गएको अतिक्रमण नियन्त्रण गर्न कडाइ थालेको छ। नगर कार्यपालिकाको कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै पार्क, खुला क्षेत्र, सडक किनार तथा अन्य सार्वजनिक स्थानमा गरिएको अतिक्रमण ३५ दिनभित्र हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको हो।
नगरपालिकाका अनुसार पछिल्लो समय विभिन्न स्थानमा अवैध रूपमा संरचना निर्माण गर्ने, निर्माण सामग्री थुपार्ने तथा सार्वजनिक जग्गा व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको छ। यसबारे नगरपालिकामा गुनासा समेत बढेपछि स्थलगत अनुगमन र निरीक्षण गरिएको थियो। अनुगमनका क्रममा सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थापनमा गम्भीर चुनौती देखिएको नगरपालिकाले जनाएको छ।


नेपाल सरकार तथा मन्त्रिपरिषद्को निर्णय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनअनुसार नगरपालिकाले अतिक्रमण हटाउने अभियानलाई अघि बढाएको हो। सूचनामा उल्लेख भएअनुसार, नगर क्षेत्रभित्र पर्ने पार्क, खुला स्थान, सडक क्षेत्र वा अन्य सार्वजनिक जग्गामा कसैले अतिक्रमण गरी निर्माण गरेका टहरा, घर, घेराबार लगायतका संरचना ३५ दिनभित्र स्वेच्छाले हटाई सम्बन्धित जग्गा खाली गर्नुपर्नेछ।
नगरपालिकाले तोकिएको म्यादभित्र अतिक्रमण नहटाएमा आफैंले डोजर प्रयोग गरी हटाउने र त्यसमा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा पक्षबाट असुल गरिने चेतावनी दिएको छ। साथै, अटेर गर्नेहरूमाथि प्रचलित कानुनअनुसार थप कारबाहीसमेत हुन सक्ने उल्लेख गरिएको छ।
यस कदमले सार्वजनिक सम्पत्तिको संरक्षण, व्यवस्थित शहरी विकास तथा नागरिकलाई सहज आवागमन र प्रयोगको वातावरण सिर्जना गर्न मद्दत पुग्ने विश्वास नगरपालिकाले व्यक्त गरेको छ। 


