नवीन चौधरी, बारा । कोल्हबी नगरपालिका वडा नं. ८ मा पैत्रिक सम्पत्ति विवादले राजनीतिक रंग लिन थालेको छ। नेकपा एमाले वडा कमिटी अध्यक्ष रुद्र प्रसाद बजगाईंमाथि आफ्नै मृगौला रोगबाट पीडित भाइको हकसमेत खोसेर पैत्रिक सम्पत्ति आफ्नो नाममा पारेको आरोप लागेको छ।
विवादित नामसारी प्रक्रियामा सिफारिस गर्ने वडा अध्यक्ष अनुप सुवेदी पनि एमालेकै निर्वाचित जनप्रतिनिधि भएकाले घटनाले थप चर्चा पाएको छ।




पीडित पक्षका अनुसार रुद्र प्रसाद बजगाईंले आमाको स्वास्थ्य अवस्था अत्यन्त नाजुक रहेका बेला विभिन्न कागजी प्रक्रिया अघि बढाएर पैतृक जग्गा–जमिन आफ्नो नाममा दर्ता गराएका हुन्। उनीहरूले सम्पत्तिमा सबै दाजुभाइको बराबर हक रहने कानुनी व्यवस्था हुँदाहुँदै प्रभाव र पहुँचको प्रयोग गरी एकल रूपमा सम्पत्ति नामसारी गरिएको आरोप लगाएका छन्।
सार्वजनिक भएका कागजातअनुसार कोल्हबी नगरपालिका वडा नं. ८ कार्यालयले मालपोत कार्यालय, कलैयालाई सम्बोधन गर्दै रुद्र प्रसाद बजगाईंको नाममा जग्गा दर्ता कायम गर्न सिफारिस गरेको देखिन्छ। उक्त सिफारिसपछि नामसारी प्रक्रिया अघि बढेको बताइएको छ।
विवादको केन्द्रमा रहेका रुद्र प्रसाद बजगाईंका माइलो भाइ होम प्रसाद बजगाईं लामो समयदेखि मिर्गौला रोगबाट पीडित रहेको परिवार स्रोतले जनाएको छ। गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेका भाइको कानुनी हकसमेत बेवास्ता गर्दै सम्पूर्ण सम्पत्ति आफ्नो नाममा पारिएको आरोपपछि स्थानीय स्तरमा व्यापक असन्तुष्टि देखिएको छ।
पीडित पक्षले वडा कार्यालयको भूमिकामाथि पनि प्रश्न उठाएको छ। उनीहरूका अनुसार विवादित विषयमा वडा कार्यालयले निष्पक्ष भूमिका खेल्नुपर्नेमा नामसारी प्रक्रियालाई सहज बनाउने गरी सिफारिस गरिएको थियो। वडा अध्यक्ष अनुप सुवेदी एमालेकै जनप्रतिनिधि भएकाले राजनीतिक संरक्षणको आशंका समेत व्यक्त गरिएको छ।
यद्यपि रुद्र प्रसाद बजगाईंले सम्पूर्ण प्रक्रिया कानुनी रूपमा सम्पन्न भएको दाबी गर्दै आएका छन्। उनले बाबु–आमाको हेरचाह, उपचार र परिवारको जिम्मेवारी आफूले उठाएकाले सम्पत्तिमा आफ्नो दाबी स्वाभाविक रहेको बताउने गरेको स्रोतको भनाइ छ।
तर उनका भाइहरूले उक्त दाबी अस्वीकार गर्दै आफूहरू पनि कानुनी रूपमा समान हकदार रहेको बताएका छन्। उनीहरूले सम्पूर्ण कागजातको छानबिन गरी वास्तविक हकदारलाई न्याय दिन सम्बन्धित निकायसँग माग गरेका छन्।
विवाद सार्वजनिक भएसँगै रुद्र प्रसाद बजगाईंले आफ्नै भाइहरूविरुद्ध प्रहरीमा उजुरी दिएको जानकारी पनि बाहिर आएको छ। स्थानीयहरूका अनुसार प्रहरीमा पुगेपछि मात्रै घटनाको विषय व्यापक रूपमा सार्वजनिक भएको हो।
हाल पीडित पक्षले वडा कमिटी अध्यक्ष रुद्र प्रसाद बजगाईं तथा वडा अध्यक्ष अनुप सुवेदीविरुद्ध सम्बन्धित निकायमा औपचारिक उजुरी दिने तयारी गरिरहेको जनाएको छ। घटनाले कोल्हबी–८ मा व्यापक चर्चा पाएको छ भने स्थानीयवासीले निष्पक्ष छानबिन र कानुनी कारबाहीको माग गरेका छन्।






