रौतहट । रौतहट जिल्लाको वन संरक्षण तथा व्यवस्थापन क्षेत्रमा पछिल्लो समय देखिएको सकारात्मक परिवर्तनको श्रेय डिभिजन वन कार्यालय रौतहटका प्रमुख डिभिजन वन अधिकृत हेमन्त प्रसाद साहलाई जाने गरेको स्थानीयवासी तथा सरोकारवालाहरू बताउँछन्। जिम्मेवारी सम्हालेयता उनले वन संरक्षण, अतिक्रमण नियन्त्रण, वृक्षारोपण तथा सुशासन प्रवर्द्धनका क्षेत्रमा देखाएको सक्रियताले वन प्रशासनप्रति जनविश्वास बढाएको छ।
विगतमा वन क्षेत्रहरू अवैध कटानी, काठ तस्करी, वन पैदावार चोरी निकासी तथा अतिक्रमणका समस्याबाट प्रभावित हुने गरेका थिए। तर पछिल्ला वर्षहरूमा वन क्षेत्रमा देखिएको सुधारले वन संरक्षण अभियानले नयाँ गति लिएको संकेत गरेको छ। यस परिवर्तनको केन्द्रमा वन अधिकृत साहको सक्रिय नेतृत्व रहेको स्थानीयहरूको भनाइ छ।




वन क्षेत्रको संरक्षणलाई प्राथमिकतामा राख्दै उनले कार्यालयको कार्यशैलीलाई परिणाममुखी बनाएका छन्। कार्यालयभित्र अनुशासन, पारदर्शिता र जवाफदेहिताको वातावरण निर्माण गर्नुका साथै वन कर्मचारीहरूलाई जनमुखी सेवा प्रवाह गर्न प्रेरित गरेका छन्। यसले वन प्रशासनको प्रभावकारिता बढाउन महत्वपूर्ण भूमिका खेलेको बताइन्छ।
साहको नेतृत्वको विशेषता भनेको फिल्डमा आधारित कार्यशैली हो। उनी कार्यालयमा बसेर मात्र निर्देशन दिने होइन, वन क्षेत्रमै पुगेर वास्तविक अवस्था बुझ्ने र समस्या समाधानका उपाय खोज्ने अधिकारीका रूपमा चिनिन्छन्। वन गस्ती, अनुगमन तथा निरीक्षणका क्रममा उनको प्रत्यक्ष सहभागिताले कर्मचारीहरूमा समेत जिम्मेवारीबोध बढाएको छ।
वन अतिक्रमण नियन्त्रणका क्षेत्रमा उनले उल्लेखनीय पहल गरेका छन्। वन क्षेत्र अतिक्रमण गरी बसोबास, खेतीपाती वा अन्य प्रयोजनका लागि प्रयोग गरिएका स्थानहरूको पहिचान गरी कानुनी प्रक्रिया अनुसार खाली गराउने कार्यलाई प्राथमिकता दिइएको छ। अतिक्रमित क्षेत्रहरू पुनः वनको स्वरूपमा फर्काउने अभियान सञ्चालन गरिएकाले हरियाली विस्तारमा सकारात्मक परिणाम देखिन थालेको छ।
वन संरक्षणसँगै वृक्षारोपण र वन पुनर्स्थापनालाई पनि उनले विशेष महत्व दिएका छन्। विभिन्न स्थानमा बिरुवा रोप्ने, प्राकृतिक रूपमा उम्रिएका बिरुवाको संरक्षण गर्ने तथा वन क्षेत्रको नियमित रेखदेख गर्ने कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइएको छ। यसले वातावरण संरक्षण र जैविक विविधता जोगाउन टेवा पुगेको छ।
स्थानीय समुदायसँगको सहकार्यलाई उनले वन व्यवस्थापनको महत्वपूर्ण आधार मानेका छन्। सामुदायिक वन उपभोक्ता समूह, स्थानीय तह, सुरक्षा निकाय तथा नागरिक समाजसँग समन्वय गरी वन संरक्षण अभियानलाई व्यापक बनाइएको छ। यसले वन क्षेत्रको सुरक्षामा समुदायको सहभागिता बढाउनुका साथै संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्न मद्दत पुगेको छ।
वन पैदावार चोरी निकासी तथा तस्करी नियन्त्रणमा पनि उनको नेतृत्व प्रभावकारी देखिएको छ। नियमित गस्ती, निगरानी तथा कानुनी कारबाहीका कारण अवैध गतिविधिमा संलग्न व्यक्तिहरू निरुत्साहित भएका छन्। वन कार्यालयका अनुसार विगतको तुलनामा चोरी कटानी तथा तस्करीका घटनामा उल्लेखनीय कमी आएको छ।
स्थानीयवासीहरू वन अधिकृत साहको निष्पक्ष र इमानदार कार्यशैलीको खुलेर प्रशंसा गर्छन्। गरुडा नगरपालिका निवासी अन्होती गुप्ताका अनुसार वन संरक्षणका विषयमा यति सक्रिय र दृढ इच्छाशक्ति भएका अधिकारी कमै भेटिन्छन्। “वन जोगाउन उहाँले गरेको कामको प्रभाव अहिले वन क्षेत्रमा स्पष्ट देख्न सकिन्छ,” उनले बताए।
सरोकारवालाहरूका अनुसार राजनीतिक दबाब वा व्यक्तिगत प्रभावभन्दा माथि उठेर कानुनअनुसार काम गर्ने साहको कार्यशैली प्रशंसनीय छ। उनले वन क्षेत्रको हितलाई केन्द्रमा राखेर निर्णय गर्ने गरेका कारण वन संरक्षण अभियानले सकारात्मक परिणाम दिन थालेको विश्वास व्यक्त गरिएको छ।
वन क्षेत्र प्राकृतिक सम्पदा मात्र नभई वातावरणीय सन्तुलन, जैविक विविधता र भावी पुस्ताको भविष्यसँग जोडिएको विषय हो। यस्ता संवेदनशील क्षेत्रमा जिम्मेवार नेतृत्व आवश्यक हुन्छ। रौतहटमा वन अधिकृत साहले देखाएको प्रतिबद्धता, सक्रियता र परिणाममुखी कार्यशैलीले वन संरक्षण अभियानलाई नयाँ उचाइमा पुर्याएको स्थानीयवासीहरूको धारणा छ।






