सिराहा । पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत औरही गाउँपालिका–४ इँटाटारस्थित सहजा खोलामा आइतबार मध्यराति कार खस्दा तीन जना घाइते भएका छन्। घाइतेहरूको सिराहा प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पूर्वबाट सिरहातर्फ आउँदै गरेको बीएबी ७८२१ नम्बरको कार करिब १२ बजे दुर्घटनामा परेको हो। इँटाटार गाउँ पार गरेलगत्तै दक्षिणतर्फ बनाइएको डाइभर्सनतर्फ मोड्नुपर्नेमा चालकलाई जानकारी नहुँदा सिधै अघि बढेपछि गाडी खोलामा पुगेको हुन सक्ने अनुमान प्रहरीको छ।
प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार दुर्घटनामा जनकपुरधाम–१४ का २२ वर्षीय अभिषेककुमार राय, ३९ वर्षीया दीपिकाकुमारी उपाध्याय र २० वर्षीया प्रिती पटेल सामान्य घाइते भएका छन्।
दुर्घटनापछि स्थानीयले डाइभर्सन खण्डमा आवतजावत रोकेका छन्। पुल निर्माण अलपत्र छाड्ने कम्पनीमाथि कारबाही, तत्काल निर्माण सुरु, ट्राफिक संकेत, बलियो घेरा र रातिको समयमा सडकबत्तीको व्यवस्था गर्नुपर्ने माग राख्दै सडक अवरुद्ध गरिएको स्थानीय अगुवा सन्तोष यादवले बताए। अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
ठेक्का सम्झौताअनुसार २५ मिटर लम्बाइ र ११ मिटर चौडाइको आरसिसी पुल १५ मंसिर २०८१ भित्र सम्पन्न हुनुपर्ने थियो। तर दुवैतर्फ पाइल ढलानपछि काम रोकिँदा पछिल्लो दुई महिनामा तीन दुर्घटना भइसकेका छन्। २७ कात्तिकको राति ड्युटीमा जाने क्रममा भएको मोटरसाइकल दुर्घटनामा प्रहरी जवान २६ वर्षीय सागर हास्दाको मृत्यु भएको थियो। त्यसको भोलिपल्ट २८ कात्तिकमा सोही स्थानमा बा १५ च ३६७ नम्बरको कार दुर्घटना हुँदा चालक राकेश यादव घाइते भएका थिए।
सहजा पुल अधुरै रहँदा औरही र अर्नमा गाउँपालिका जोड्ने सडक प्रयोग गर्ने यात्रु जोखिम मोलेर हिँड्न बाध्य छन्। वडाध्यक्ष सुरेन्द्रप्रसाद यादवका अनुसार मनसुनमा त वारिपारि गर्नसमेत कठिन हुने गरेको छ। जनकपुरस्थित सुगम निर्माण सेवाले लिएको ठेक्का पेटी ठेकेदारका रूपमा धनुषाकै सुप्रिया निर्माण सेवालाई दिइएको छ।
हुलाकी राजमार्ग निर्देशनालयका अनुसार पुलसहित बक्स कल्भर्ट निर्माणका लागि भ्याटसमेत ११ करोड ५४ लाख १६ हजार ३७ रुपैयाँ १६ पैसाको ठेक्का सम्झौता भएको छ। मोबिलाइजेसन र सम्पन्न कामबापत ठेकेदार कम्पनीले भ्याटसहित ३ करोड ४० लाख ७३ हजार २५० रुपैयाँ एक पैसा भुक्तानी लिइसकेको छ।