नवीन चौधरी, बारा । सरकारले सरकारी सूचना सरकारी सञ्चार माध्यमलाई मात्र दिने निर्णय गरेपछि त्यसको विरोधमा नेपाल पत्रकार महासंघ बाराले हस्ताक्षर अभियान सञ्चालन गरेको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवानको प्रमुख आतिथ्य तथा महासंघ बारा शाखाका अध्यक्ष रमेश सुवेदी को अध्यक्षतामा अभियान सञ्चालन गरिएको हो ।




महासंघको केन्द्रीय निर्देशनअनुसार बारा शाखाले चरणबद्ध आन्दोलनअन्तर्गत हस्ताक्षर अभियान सञ्चालन गरेको अध्यक्ष सुवेदीले जानकारी दिए । उनका अनुसार अभियान बारा जिल्लाको जितपुरसिमरा र निजगढ क्षेत्रमा पनि जारी छ ।
अभियानमा केन्द्रीय सदस्य सिकेन्द्र पासवान लगायत पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
सरकारले चैत १८ गतेदेखि सरकारी सूचना सरकारी मिडियालाई मात्र उपलब्ध गराउने मन्त्रीस्तरीय निर्णय गरेपछि त्यसको विरोधमा पत्रकार महासंघले देशभर आन्दोलन गर्दै आएको छ ।






