सिरहा । जनता समाजवादी पार्टी, नेपालका उपाध्यक्ष राजकिशोर यादवले आफ्नो निर्वाचन क्षेत्रमा आक्रमक ढंगले सक्रियता बढाएका छन् । सिरहा क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका यादवले निर्वाचन क्षेत्रका गाउँ-गाउँमा चुनावी गतिविधि बढाएका हुन् ।
यस क्षेत्रमा उम्मेदवारी दिएका उम्मेदवारमध्ये सबैभन्दा अनुभवी र प्रभावशाली व्यक्तित्व उनको छ । किनकि, उनी तीन पटक सांसद, दुई पटक मन्त्री र एक पटक संसदीय समितिको सभापति भइसकेका छन् । मधेशको सामाजिक संरचनामा पनि उनको बलियो प्रभाव छ ।
मधेश आन्दोलनताका आन्दोलनकर्मीका रूपमा होस्, या प्रतिनिधिसभामा सांसदका रूपमा, सिंहदरबारमा मन्त्रीका रूपमा होस् अथवा सभापतिका रूपमा, यादवले सधैंभरि मधेशको पक्षमा दलिरोसँग आवाज उठाएका छन् नै, समग्र मधेश र सिरहाको रणनीतिक विकासमा पनि महत्त्वपूर्ण योगदान दिएका छन् ।
जसकारण यादवको सक्रियता र प्रभावका अगाडी अन्य उम्मेदवार छाँयामा पर्न थालेका छन् भने मतदातामा उनीप्रतिको झुकाब बढ्दै गएको छ । ‘देश त कांग्रेस कम्युनिष्टले बिगारेको हो नि,’ बन्दिपुरका जितेन्द्र यादवले भने, ‘उहाँहरूले त सधैं यसको विरोध गर्दै मधेश र जनताको पक्षमा उभिनुभएको छ, त्यसैले हामीले उहाँलाई साथ दिनुपर्छ ।
सिरहा ४ का सबै ठाउँका अधिकांश मतदाता अन्तिममा सशक्त र दमदार प्रतिनिधि छान्ने कुरामा एक ठाउँमा आउने र राजकिशोर यादवलाई साथ दिने जितेन्द्र बताउँछन् । ‘यस क्षेत्रमा थुप्रै उम्मेदवार छन्, कोही हल्लाको भरमा जित्न चाहन्छन्, कोही पैसाको भरमा,’ उनले भने, ‘तर, अन्तिममा मतदाताले विवेक प्रयोग गर्छन्, उहाँजस्तो सशक्त प्रतिनिधि छान्छन् ।’