सिरहा । गणपति बाबा ट्रेडमा डिजेलमा पानी मिसाएर इन्धन बिक्री गरिएको गम्भीर आरोप लागेको छ। उक्त पेट्रोल पम्प गोलबजार नगरपालिका–८ स्थित पुरानो चौक चोहर्वा र नयाँ चौकको बीचमा रहेको छ।
चुनावी अभियानमा खटिएको बा १८ च २९२५ नम्बरको सेतो स्कार्पियो गाडीले मंगलबार दिउँसो करिब १२ बजे कुपनमार्फत ३० लिटर डिजेल भरेपछि समस्या देखिएको बताइएको छ। चालक सुशील यादवका अनुसार पम्पबाट निस्किएको केही समयमै गाडी भकभकाउन थालेको र इन्जिनले अस्वाभाविक आवाज निकाल्दै बन्द हुन खोजेको थियो। शंका लागेपछि गाडी पुनः पम्पमै फर्काएर ट्यांकी जाँच गर्दा डिजेलमा पानी मिसिएको देखिएको उनले दाबी गरे।
उनका अनुसार त्यसपछि इन्धन पम्पमै निकालेर अर्को डिजेल उपलब्ध गराउने सहमतिपछि गाडी पठाइएको थियो। घटनापछि स्थानीयस्तरमा चासो र आक्रोश बढेको छ।
पम्पका लेखापालले भने हालसम्म यस्तो समस्या नआएको दाबी गर्दै पहिलो पटक यस्तो गुनासो आएको बताए। “के कारणले यस्तो भयो भन्नेबारे बुझ्ने प्रयास गरिरहेका छौं,” उनले भने।
स्थानीय व्यवसायी तथा उपभोक्ताले भने इन्धनमा लापरबाही अस्वीकार्य भएको बताएका छन्। स्थानीय व्यवसायी आर.डी. यादवले इन्धनमा पानी मिसिनु सामान्य त्रुटि नभई गम्भीर लापरबाही वा ठगी हुन सक्ने आशंका व्यक्त गरे। उनले सम्बन्धित निकायले तत्काल नमुना परीक्षण गरी सत्य–तथ्य सार्वजनिक गर्नुपर्ने माग गरे।
यसअघि पनि सिरहामा पेट्रोल तथा डिजेलमा मिसावट गरी उपभोक्ता ठगीका घटना सार्वजनिक भइसकेका छन्। पछिल्लो घटनाले अनुगमन प्रणाली र गुणस्तर परीक्षणको प्रभावकारितामाथि प्रश्न उठाएको छ।
यता जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले औपचारिक उजुरी आएमा अनुगमन गरिने र मिसावट पुष्टि भएमा पेट्रोल पम्प शिल गरी कानुनबमोजिम कारबाही गरिने बताए।