सिरहा । नरहा गाउँपालिकाका पूर्वअध्यक्ष रामशरण यादव सोमबार जनता समाजवादी पार्टी, नेपालमा प्रवेश गरेका छन्। पार्टी प्रवेश कार्यक्रममा जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादव र सचिव सुरेशकुमार मण्डलले उनलाई स्वागत गरे।
यादव २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट नरहा गाउँपालिकाको अध्यक्षमा निर्वाचित थिए। अध्यक्षको कार्यकाल सकिएपछि उनी एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीतिर खुलेका थिए। तर, नेकपा एस र माओवादी केन्द्रबीच एकता भएपछि उनी केही समयदेखि राजनीतिक रूपमा निष्क्रिय देखिएका थिए।
सोमबार नरहा चोकमा आयोजित कार्यक्रममा पूर्वअध्यक्ष यादवसँगै उनका निकटस्थ नेता र कार्यकर्ता पनि जसपा नेपालमा प्रवेश गरे। यससँगै सिरहा–४ क्षेत्रको राजनीतिक परिदृश्यमा पार्टीको सक्रियता थप बलियो हुने अपेक्षा गरिएको छ।