वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जमा अवैध गोदाममा छापा मार्न पुगेका सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गरेको छ। घटनामा संलग्नहरूको पहिचानका लागि सिसीक्यामेरा फुटेजको आधारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सोमबार वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त टोली आदर्शनगरस्थित एक गोदाममा छापा मार्न पुगेको थियो। भन्सार छली गरेर सामान भित्र्याइएको आशंकामा गरिएको कारबाहीका क्रममा स्थानीय व्यापारी समूहसँग झडप भएको थियो। झडपका क्रममा तीन जना सशस्त्र प्रहरी घाइते भएका थिए भने सशस्त्र प्रहरीका दुई वटा सवारीसाधनमा समेत क्षति पुगेको थियो।
पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार आक्रमणमा संलग्न देखिएका चार जनालाई सोमबार रातिसम्म नियन्त्रणमा लिइएको छ। उनले भने, “सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेहरूको सिसीक्यामेरा फुटेज हेरेर आवश्यक अनुसन्धान भइरहेको छ। संलग्नहरूको नाम अनुसन्धानका कारण पछि सार्वजनिक गर्नेछौँ।”
संयुक्त टोलीले आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपमा गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा प्रतिरोध सामना गर्नुपरेको जनाएको छ। सशस्त्र प्रहरीले उक्त स्थानबाट करिब १२ लाख ५० हजार रुपैयाँ बराबरको सामान बरामद गरेको जानकारी दिएको छ।
घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ भने अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि कानुनी प्रक्रिया अघि बढाइने तयारी भइरहेको छ।