कोल्हबी, बारा । कोल्हबी क्षेत्रका केही स्थानीय सञ्चारमाध्यम जनसरोकारका विषयभन्दा राजनीतिक नेतृत्व र जनप्रतिनिधिको प्रचार–प्रसारमा बढी केन्द्रित भएको आरोप स्थानीय स्तरमा चर्किंदै गएको छ। स्थानीय राजनीतिक तथा सामाजिक अगुवाहरूले पत्रकारिता जनमुखी हुनुपर्नेमा नेतामुखी बन्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोल्हबी नगर समितिका उपसभापति जितन चौधरीले स्थानीय पत्रकारिताले जनताका वास्तविक समस्या र सरोकारलाई प्राथमिकतामा राख्न नसकेको आरोप लगाए। उनका अनुसार कोल्हबी क्षेत्रमा विकास निर्माण, सार्वजनिक खर्च, बेरोजगारी, शिक्षा, स्वास्थ्य तथा सुशासनसँग सम्बन्धित अनेकौं प्रश्न उठिरहेका भए पनि ती विषयमा अपेक्षित खोजमूलक समाचार आउन सकेका छैनन्।




“पत्रकारिता जनताको आवाज बन्नुपर्ने हो, तर यहाँ जनप्रतिनिधि र नेताको गतिविधि प्रचार गर्ने माध्यमजस्तो देखिन थालेको छ,” उनले भने, “सार्वजनिक निकायमाथि प्रश्न उठाउने र जवाफदेही बनाउने काम कमजोर भएको महसुस भइरहेको छ।”
समाजसेवी अमृत जि.आर.ले पनि पत्रकारिताको मूल उद्देश्य सत्तालाई प्रश्न गर्नु र जनताको पक्षमा उभिनु भएको उल्लेख गर्दै केही सञ्चारमाध्यम त्यसबाट विचलित भएको टिप्पणी गरे।
उनले भने, “लोकतन्त्रमा सञ्चारमाध्यमलाई चौथो अंग मानिन्छ।
यदि सञ्चारमाध्यमले जनताको मुद्दा छोडेर केवल प्रशंसामूलक सामग्री मात्रै प्रकाशन गर्न थाल्यो भने त्यसले समाजमा गलत सन्देश दिन्छ। पत्रकारिताले सत्य, तथ्य र जनहितलाई केन्द्रमा राख्नुपर्छ।”
यता कोल्हबी–५ बलुवाका स्थानीय रविन्द्र चौधरीले पनि सञ्चारमाध्यममाथि कडा टिप्पणी गरेका छन्। उनका अनुसार किसान, मजदुर, विद्यार्थी, बेरोजगार युवा तथा सर्वसाधारण नागरिकका समस्या ओझेलमा पर्दै गएका छन् भने नेता र जनप्रतिनिधिका गतिविधि प्रमुख समाचार बन्ने गरेका छन्।
“जनताको करबाट चल्ने स्थानीय सरकारका कामकारबाहीमाथि निगरानी गर्नुपर्ने सञ्चारमाध्यम नै मौन बस्नु दुःखद हो,” रविन्द्र चौधरीले भने, “जनताको पीडा र बेथिति उजागर गर्नुको सट्टा केही सञ्चारमाध्यम बजेट, विज्ञापन र व्यक्तिगत स्वार्थका लागि नेताको गुणगानमा व्यस्त देखिन्छन्।”
उनले कोल्हबी नगरपालिकाभित्र भएका कथित अनियमितता, सार्वजनिक स्रोतको उपयोग, विकास निर्माणका कामको गुणस्तर तथा सेवा प्रवाहका विषयमा गहिरो अनुसन्धान हुनुपर्ने माग पनि गरेका छन्।
स्थानीय सरोकारवालाहरूले पत्रकारिताले जनताको पक्षमा उभिएर भ्रष्टाचार, अनियमितता र बेथितिमाथि निर्भीक रूपमा कलम चलाउनुपर्ने बताएका छन्। उनीहरूको भनाइमा सञ्चारमाध्यम जनताको विश्वासको केन्द्र बन्न खोज पत्रकारिता, तथ्यमा आधारित रिपोर्टिङ र निष्पक्ष भूमिकामा जोड दिन आवश्यक छ।
कोल्हबी क्षेत्रमा पत्रकारिताको भूमिका र निष्पक्षतामाथि उठेका यी प्रश्नहरूले स्थानीय सञ्चारमाध्यमलाई आत्मसमीक्षा गर्ने अवसर दिएको भन्दै नागरिकहरूले जनमुखी पत्रकारिताको अपेक्षा गरेका छन्।






