काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारमा सुदन गुरुङ पुनः गृहमन्त्री नियुक्त हुने भएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनको सपथग्रहण आज अपराह्न ३ बजेका लागि तय गरिएको छ ।
यसअघि सम्पत्ति विवरण तथा अन्य विषयसँग सम्बन्धित विवाद सार्वजनिक भएपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले उनीमाथि लागेको आरोपबारे अध्ययन तथा छानबिन गर्न विशेष समिति गठन गरेको थियो।




समितिले आफ्नो प्रतिवेदनमार्फत गुरुङमाथि लगाइएका आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकाल्दै उनलाई सफाइ दिएको जनाएको छ। सोही प्रतिवेदनका आधारमा सरकारले गुरुङलाई पुनः गृह मन्त्रालयको जिम्मेवारी सुम्पने निर्णय गरेको स्रोतको दाबी छ।
राष्ट्रपति कार्यालयमा सपथग्रहण कार्यक्रमको तयारीका लागि आवश्यक पत्राचार भइसकेको जनाइएको छ। गुरुङको पुनर्नियुक्तिसँगै सरकारभित्रको गृह प्रशासन नेतृत्व पुनः उनकै हातमा जाने भएको छ।
गुरुङको पुनरागमनलाई लिएर राजनीतिक वृत्तमा मिश्रित प्रतिक्रिया देखिन थालेको छ भने विपक्षी दलहरूले यस विषयमा थप स्पष्टता माग्न सक्ने संकेत गरेका छन्।






