बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्ला अधिवेशन अन्ततः अनिश्चितकालका लागि स्थगित भएको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले आइतबार अत्यन्त जरुरी सूचना जारी गर्दै जेठ २६ गतेका लागि तय गरिएको अधिवेशन अर्को सूचना जारी नभएसम्म रोकिएको जनाएको हो।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख द्वारा जारी सूचनामा विभिन्न अपरिहार्य कारणले अधिवेशन स्थगित गरिएको उल्लेख गरिएको छ। अधिवेशन पुनः सञ्चालन हुने मिति र समयबारे पछि जानकारी गराइने आयोगले जनाएको छ।




बारामा पछिल्ला दिनहरूमा अधिवेशन प्रक्रियालाई लिएर विवाद चर्किएको थियो। विशेषगरी कलैया उपमहानगरपालिकाको नगर अधिवेशनको निर्वाचन परिणाम सार्वजनिक भइसकेपछि पुनः निर्वाचन गराउने निर्णयले नेता–कार्यकर्ताबीच असन्तुष्टि बढेको थियो।
निर्वाचन सम्पन्न भई विजयी उम्मेदवारको घोषणा तथा शपथग्रहणसमेत भइसकेपछि पुनः निर्वाचन गराउने निर्णय गरिएको भन्दै स्थानीय नेता–कार्यकर्ताले विरोध जनाएका थिए। उनीहरूले लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित नेतृत्वलाई मान्यता नदिइएको आरोप लगाएका छन्।
विवाद बढ्दै गएपछि आइतबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयमा नेता–कार्यकर्ताले प्रदर्शनसमेत गरेका थिए। उनीहरूले निर्वाचन रद्द गर्ने निर्णयको आधार सार्वजनिक गर्न, निर्वाचित नेतृत्वलाई वैधानिकता दिन तथा पार्टीभित्रको हस्तक्षेप अन्त्य गर्न माग गरेका छन्।
देशभर संगठन निर्माण र महाधिवेशनको तयारी गरिरहेको रास्वपामा विभिन्न जिल्लामा देखिएको विवादले पार्टीको आन्तरिक व्यवस्थापन र नेतृत्व समन्वयमाथि प्रश्न उठ्न थालेको छ।






