कलैया । नेपाल पत्रकार महासंघ बारा शाखाले सञ्चारमाध्यमप्रति विभेदकारी नीति अवलम्बन गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।
महासंघले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाउँदै विवादित निर्णय तत्काल फिर्ता लिन माग गरेको हो।
महासंघको केन्द्रीय आन्दोलन कार्यक्रमअन्तर्गत बारा शाखाले उपाध्यक्ष प्रीयन्का दासको नेतृत्व तथा केन्द्रीय सदस्य सिकेन्द्र पासवानको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ज्ञापनपत्र हस्तान्तरण गरेको जनाएको छ।




ज्ञापनपत्रमा सरकारी विज्ञापन तथा सार्वजनिक सूचना वितरण प्रक्रियामा निजी सञ्चारमाध्यमलाई उपेक्षा गर्ने गरी जारी गरिएको परिपत्रले प्रेस स्वतन्त्रता, निष्पक्ष पत्रकारिता र नागरिकको सूचनामाथिको पहुँचमा नकारात्मक असर पार्ने उल्लेख गरिएको छ। महासंघले यस्तो निर्णय लोकतान्त्रिक मूल्य–मान्यता र संविधानद्वारा सुनिश्चित प्रेस स्वतन्त्रताको भावना विपरीत रहेको जनाएको छ।
महासंघले सञ्चार क्षेत्रमाथिको विभेद अन्त्य गर्दै सबै सञ्चारमाध्यमलाई समान व्यवहार गर्न, नागरिकको सूचना प्राप्त गर्ने अधिकारको रक्षा गर्न तथा संविधान संशोधनलगायतका विषयमा सर्वपक्षीय कार्यदल गठन गरी व्यापक छलफल अघि बढाउन सरकारसँग माग गरेको छ।
ज्ञापनपत्र बुझाउँदै महासंघ बारा शाखाले स्वतन्त्र र जिम्मेवार सञ्चारमाध्यम लोकतन्त्रको आधार स्तम्भ भएकाले सञ्चार क्षेत्रलाई कमजोर बनाउने कुनै पनि कदम स्वीकार्य नहुने चेतावनी दिएको छ। साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि आवश्यक परे थप आन्दोलनका कार्यक्रम घोषणा गरिने जनाएको छ।
महासंघले पत्रकार, सञ्चारगृह, नागरिक समाज र लोकतन्त्रप्रति प्रतिबद्ध सबै पक्षलाई प्रेस स्वतन्त्रताको पक्षमा एकजुट हुन आह्वान समेत गरेको छ।






