जनकपुर । जनकपुरधामस्थित मैथिली विकास कोषको भवनमा मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ आइतबारदेखि सुरु भएको छ। प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले कार्यक्रमको उद्घाटन गरेका हुन्। माघ २९ गतेसम्म सञ्चालन हुने प्रदर्शनी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र मैथिली विकास कोषको संयुक्त आयोजनामा भइरहेको छ। यसमा जनकपुरधाम उपमहानगरपालिका, मधेश प्रज्ञा–प्रतिष्ठान, राजर्षि जनक विश्वविद्यालयको सहकार्य तथा नेपाल पर्यटन बोर्ड कला प्रवर्धकका रूपमा सहभागी छन्।
पाँच दिनसम्म चल्ने प्रदर्शनीमा मैथिली भाषा, साहित्य, परम्परा र संस्कृतिसँग सम्बन्धित चित्रकला तथा हस्तकला राखिएका छन्। साथै मधेशमा बसोबास गर्ने विभिन्न समुदायको जीवनशैली झल्काउने कलाकृतिहरूले पनि दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहमा प्रदेश प्रमुख लाभले मधेश कला र चिन्तनको उर्वर भूमि भएको उल्लेख गर्दै गाउँघरका भित्तामा कोरिने मिथिला चित्रकला आज अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउनु गर्वको विषय भएको बताए। उनले यस्ता प्रदर्शनीले परम्परागत कलालाई आधुनिक युगसँग जोड्ने पुलको काम गर्ने धारणा राखे। ललितकला समाजको ऐना र राष्ट्रको पहिचानको आधार भएको उनको भनाइ थियो।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा प्रतिष्ठान निरन्तर सक्रिय रहेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिइने प्रतिबद्धता जनाए।