नवीन चौधरी, कोल्हबी । करैयामाई गाउँपालिकाको आयोजनामा हुने तेस्रो करैयामाई गोल्डकप फुटबल प्रतियोगिता–२०८३ उमजनमा हुने जनाइएको छ।
प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले खेलकुदको विकास, युवाहरूलाई सकारात्मक गतिविधिमा संलग्न गराउने, स्थानीय प्रतिभाको पहिचान तथा प्रोत्साहन गर्ने, सामाजिक एकता र सहकार्य अभिवृद्धि गर्ने तथा करैयामाई गाउँपालिकालाई खेलकुद नगरका रूपमा विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो।




पत्रकार सम्मेलनमा बोल्दै नवजन प्रगति युवा क्लबका उपाध्यक्ष तथा कार्यक्रमका सभापति मनिन्द्र चौधरी ले प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद संस्कृतिको विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका शिक्षा प्रमुख उमेश यादव ले खेलकुदले युवाहरूलाई अनुशासित र सिर्जनशील बनाउन मद्दत गर्ने भन्दै यस्ता प्रतियोगिताको निरन्तरतामा गाउँपालिकाको साथ रहने बताए।
आयोजकका अनुसार प्रतियोगिता जेठ ३१ गतेदेखि सुरु भई असार ८ गते समापन हुनेछ। फाइनल खेलको एक दिनअघि अर्थात् असार ७ गते चितवन र रौतहटका महिला टोलीबीच विशेष महिला फुटबल खेल आयोजना गरिनेछ।
प्रतियोगितामा ९ वटा टोली सहभागी हुनेछन्। सहभागी टोलीहरूमा एपिएफ बर्दिवास, वीरगञ्ज सिटी क्लब, वीरगञ्ज युथ एकेडेमी, हेटौंडा फुटबल एकेडेमी, बकुलिया–११, एनजेजेवाइसी सिमरा, अल्टोकी फुटबल क्लब रौतहट, नवजन प्रगति युवा क्लब करैयामाई–७ बारा तथा सनराइजिङ करैयामाई–७ बारा रहेका छन्।
प्रतियोगिताको विजेताले ७० हजार रुपैयाँ र उपविजेताले ३५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता सञ्चालनका लागि ७ लाख १० हजार रुपैयाँको अनुमानित बजेट तय गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा सहयोगी संस्थाका रूपमा श्री नवजन प्रगति युवा क्लब, करैयामाई युवा समाज तथा बारा फाउन्डेसन रहेका छन्। पत्रकार सम्मेलनमा नवजन प्रगति युवा क्लबका अध्यक्ष रुपनारायण प्रसाद यादव, करैयामाई युवा समाजका अध्यक्ष चान्द बाबु अन्सारी तथा बारा फाउन्डेसनकी अध्यक्ष मुना चौधरी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन नवजन प्रगति युवा क्लबका सचिव गोपाल चौधरी ले गरेका थिए।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण गोल नेपाल डट कम मार्फत गरिने आयोजकले जनाएको छ। आयोजकले प्रतियोगितालाई सफल बनाउन खेलप्रेमी, स्थानीयवासी तथा सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि आग्रह समेत गरेको छ।






