नवीन चौधरी, कोल्हबी । बारा जिल्लाको कोल्हबी नगरपालिका क्षेत्रमा कृषि प्रयोजनका लागि आवश्यक विद्युत् मिटर अभाव हुँदा किसानहरू सिँचाइ सुविधाबाट वञ्चित हुन बाध्य भएका छन्। कृषि उत्पादन बढाउन बोरिङ जडान गरिए पनि विद्युत् कृषि मिटर नपाउँदा ती बोरिङ सञ्चालनमा आउन नसकेको किसानहरूको गुनासो छ।
जिल्ला विद्युत् वितरण कार्यालयका अनुसार चालु आर्थिक वर्षमा बारा जिल्लाभरका लागि जम्मा दुई सय थान कृषि विद्युत् मिटर मात्र उपलब्ध भएको छ। जिल्लाभरका किसानको मागको तुलनामा यो संख्या निकै न्यून भएकाले धेरै किसानले अझै मिटर प्राप्त गर्न सकेका छैनन्।




कोल्हबी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नन्दकिशोर चौधरीले यस क्षेत्रका किसानहरू सिँचाइको अभावका कारण खेतीपाती गर्न कठिनाइ भोगिरहेको बताए। उनले कृषि उत्पादन वृद्धि तथा किसानको आयआर्जन बढाउनका लागि कृषि मिटरको व्यवस्था तत्काल गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
साना किसान कृषि सहकारी संस्था प्रसौनाको सहकार्यमा कृषि ज्ञान केन्द्रबाट अनुदानमा बोरिङ उपलब्ध गराइए पनि विद्युत् मिटर जडान हुन नसक्दा ती बोरिङ प्रयोगविहीन अवस्थामा रहेको बताइएको छ। किसानहरूका अनुसार बोरिङ जडान भइसकेको भए पनि मिटर नहुँदा खेतमा पानी पुर्याउन नसकिएको छ, जसले खेतीपाती प्रभावित बनेको छ।
यता, केही कृषकहरूले कृषि विद्युत् मिटर प्राप्त गरिसके पनि पर्याप्त भोल्टेज नपाउँदा सिँचाइका लागि जडान गरिएका मोटरहरू प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताएका छन्। न्यून भोल्टेजका कारण मोटर पटक–पटक बिग्रिने तथा जल्ने समस्या समेत देखिएको उनीहरूको भनाइ छ।
स्थानीयवासीका अनुसार विद्युत् आपूर्ति समय–समयमा अवरुद्ध हुने समस्यासँगै वडा नं. ५ अन्तर्गतका ककडी, रामबन, बोधबन र गोकुलटाडी क्षेत्रका घरधुरीमा समेत पर्याप्त भोल्टेज नपुग्दा जनजीवन प्रभावित बनेको छ। अत्यधिक गर्मीका बेला बत्ती मधुरो बल्ने, पंखा नचल्ने तथा अन्य विद्युतीय उपकरण प्रयोग गर्न नसकिने अवस्था रहेको उनीहरूले बताएका छन्।
स्थानीय बासिन्दाले न्यून भोल्टेजका कारण दैनिक जीवन कष्टकर बन्दै गएको भन्दै विद्युत् सेवा सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। किसानहरू भन्छन्, “मिटर पाए पनि पर्याप्त भोल्टेज छैन, मोटर चल्दैन। घरमा पंखासमेत राम्ररी नचल्ने अवस्था छ। यस्तो अवस्थामा खेतीपाती र दैनिक जीवन दुवै प्रभावित बनेको छ।”
कृषक तथा स्थानीयवासीहरूले कृषि मिटरको अभाव अन्त्य गर्न, विद्युत् लाइनको क्षमता वृद्धि गर्न तथा नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत् प्राधिकरणसँग माग गरेका छन्। स्थानीय जनप्रतिनिधिहरूले पनि कृषि उत्पादन, सिँचाइ सुविधा र सर्वसाधारणको दैनिक जीवनसँग जोडिएको विषय भएकाले समस्या समाधानका लागि तत्काल पहल आवश्यक रहेको बताएका छन्।






