नवीन चौधरी, कोल्हबी । तामागढी होस्पिटल प्रा.लि. कोल्हबी–१ को आयोजना तथा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोग र ब्लड डोनर्स एसोसिएसन बारा जिल्ला शाखाको सहकार्यमा सञ्चालन गरिएको स्तन तथा पाठेघरमुख क्यान्सर सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविरमा २५७ जना सहभागी भएका छन्।
उक्त शिविरमा कोल्हबी नगरपालिका सहित छिमेकी पालिकाका महिलाहरूले प्रत्यक्ष रूपमा स्तन तथा पाठेघरमुखको क्यान्सर परीक्षण गराएका थिए। स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै समयमै रोग पहिचान गर्ने उद्देश्यले सञ्चालन गरिएको शिविरप्रति स्थानीयको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।




परीक्षणका क्रममा सहभागीमध्ये एक जनामा क्यान्सर देखिएको छ भने थप विस्तृत परीक्षण आवश्यक रहेका १५ जनालाई भक्तपुर क्यान्सर अस्पतालमा रिफर गरिएको जानकारी दिइएको छ।
रिफर भएका बिरामीहरूले तामागढी होस्पिटल प्रा.लि. कोल्हबी–१ बाट रिफर पत्र लिएपछि एक जना कुरुवासहित खान, बस्न तथा सम्पूर्ण आवश्यक परीक्षण सेवा निःशुल्क पाउने व्यवस्था मिलाइएको तामागढी होस्पिटलले जनाएको छ।
स्थानीयस्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउँदै स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको शिविर प्रभावकारी बनेको सहभागीहरूले बताएका छन्।



