नवीन चौधरी, कोल्हबी । कोल्हबी नगर उद्योग वाणिज्य संघले बजार व्यवस्थापन, सरसफाइ, पार्किङ, नगर प्रहरीको आवश्यकता तथा व्यापारी सुरक्षालाई प्राथमिकतामा राख्दै महत्वपूर्ण निर्णयहरू गरेको छ ।
संघले आफ्ना सदस्य व्यापारीहरूको दुर्घटना बिमाको व्यवस्था गर्ने निर्णयसँगै बजार व्यवस्थापनका विभिन्न विषयमा व्यापक छलफल गरेको हो ।




कोल्हबी बजारमा “फोहोर व्यवस्थापन तथा गाडी पार्किङ”, नयाँ बजार सञ्चालन, गुद्री बजार व्यवस्थापन, सदस्य दुर्घटना बिमा तथा कर सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन, नगर प्रहरीको माग लगायतका विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा व्यापारी, जनप्रतिनिधि, सुरक्षाकर्मी तथा समाजसेवीहरूको सहभागिता रहेको थियो ।
संघका उपाध्यक्ष प्रेम चौधरीको सञ्चालन तथा अध्यक्ष राम प्रसाद प्रसाईंको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोल्हबी नगरपालिकाकी उप-प्रमुख लक्ष्मी चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो ।
कार्यक्रममा संघका पूर्व अध्यक्षहरू सुकदेव साह रौनियार, अजय कुमार साह, लक्ष्मी प्रसाद साह कलवार, वडा नं. १ का वडा अध्यक्ष राजहरण चौधरी, पूर्व वडा अध्यक्ष वीरेन्द्र चौधरी, वरिष्ठ व्यापारी ढुन्डीराज उप्रेती, प्रमोद साह, धनीशंकर साह, समाजसेवी भुवन प्रसाद चौधरी, हरिसचन्द्र पनुहर, इलाका प्रहरी कार्यालय कोल्हबी, सशस्त्र प्रहरी बेस क्याम्प तथा ट्राफिक प्रहरीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बजारको अस्तव्यस्तता, फोहोर व्यवस्थापनको कमजोरी, सडक अतिक्रमण, अव्यवस्थित पार्किङ तथा दुर्गन्धले बजार कुरुप बन्दै गएको विषयमा गम्भीर छलफल भएको थियो । सहभागीहरूले माछा व्यापारीले जथाभावी फालेको फोहोर, पसलबाट निस्कने प्लास्टिक तथा नालामा फोहोर फाल्ने प्रवृत्तिले बजार दुर्गन्धित बनेको भन्दै तत्काल सुधारको आवश्यकता औंल्याएका थिए ।
समाजसेवी भुवन प्रसाद चौधरीले प्रत्येक व्यापारीले आफ्नो पसल अगाडिको फोहोर आफैं व्यवस्थापन गर्नुपर्ने सुझाव दिँदै सडक साँघुरो हुने गरी साइकल चलाउने, बजार क्षेत्रमा अव्यवस्थित टहरा तथा छाप्रोका कारण दुर्घटनाको जोखिम बढेको धारणा राख्नुभयो ।
शिक्षक वीरेन्द्र चौधरीले पसल अगाडि पाल टाँग्ने प्रवृत्ति रोक्नुपर्ने बताए भने स्वास्थ्यकर्मी सिहन्तर चौधरीले प्राथमिक स्वास्थ्य केन्द्र जाने बाटोमै गाई–गोरु तथा बाख्रा बाँध्दा सर्वसाधारणलाई समस्या भएको भन्दै त्यसको व्यवस्थापन आवश्यक रहेको बताउनुभयो ।
नगरपालिकाका सरसफाइ फोकल पर्सन देवनारायण चौधरीले बजारका ठूला डस्टबिनमा फोहोर व्यवस्थापन गर्न आग्रह गर्दै नालामा सिसा तथा फोहोर फालिँदा सरसफाइमा समस्या भइरहेको गुनासो गर्नुभयो । साथै सरसफाइ सप्ताह तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आएको सरसफाइसम्बन्धी निर्देशनबारे जानकारी गराउँदै स्थानीय तहका सबै निकायलाई सफा राख्नुपर्नेमा जोड दिनुभयो ।
पूर्व अध्यक्ष लक्ष्मी प्रसाद साह कलवारले “कर उठाउने मात्रै होइन, बजार सरसफाइमा पनि पालिकाले जिम्मेवारी लिनुपर्छ” भन्दै नगरपालिकाको ध्यानाकर्षण गराउनुभयो । वडा अध्यक्ष राजहरण चौधरीले ट्याक्टर आउने समयमा मात्रै फोहोर व्यवस्थापन गर्न र नालामा फोहोर नफाल्न आग्रह गर्दै जनचेतनामूलक कार्यक्रम सञ्चालन आवश्यक रहेको बताउनुभयो ।
व्यापारी जय प्रकाश चौधरीले माछा व्यापारीको फोहोर, टहराको अव्यवस्था तथा नालाको पानी निकास नहुँदा बजार दुर्गन्धित बनेको गुनासो गर्नुभयो ।
कार्यक्रममा बोल्दै नगर उप-प्रमुख लक्ष्मी चौधरीले नगर प्रहरी गठन, फोहोर तथा पार्किङ व्यवस्थापन सम्बन्धी माग नगर प्रमुखसँग छलफल गरी यथाशीघ्र समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसैबीच, कोल्हबी नगर उद्योग वाणिज्य संघले संघमा आवद्ध सम्पूर्ण सदस्य व्यापारीका लागि दुर्घटना बिमा सुविधा उपलब्ध गराउने महत्वपूर्ण निर्णय गरेको छ । निर्णयअनुसार दुर्घटनामा उपचार खर्चको सुविधा उपलब्ध हुने तथा मृत्यु भएमा परिवारलाई १ लाख रुपैयाँ राहत सहयोग प्रदान गरिने संघले जनाएको छ ।
व्यापारीहरूको सुरक्षा र सामाजिक संरक्षणलाई प्राथमिकतामा राख्दै संघले अघि सारेको यो निर्णयलाई कोल्हबीका व्यवसायीले सकारात्मक कदमका रूपमा हेरेका छन् ।




