काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित उच्चपदस्थ अधिकारीलाई धम्की दिएको आरोप लागेका प्रकाश पाठकलाई फिलिपिन्सबाट काठमाडौं ल्याइएको छ।
इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएपछि उनलाई फिलिपिन्सको ब्युरो अफ इमिग्रेसन (बीआई) अन्तर्गत फरार अभियुक्त खोजी युनिटले मालोलोस सहरबाट पुसको तेस्रो साता पक्राउ गरेको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी बुधबार अनुसन्धानका लागि नेपाल ल्याइएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए। उनका अनुसार अब जिल्ला प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान अघि बढाउनेछ।
पाठकविरुद्ध आपराधिक विश्वासघातको कसुरमा जिल्ला अदालत काठमाडौंले सन् २०२५ डिसेम्बर १ मा पक्राउ पुर्जी जारी गरेको थियो।
फिलिपिन्स अध्यागमनले सार्वजनिक गरेको विवरणअनुसार पाठकले फरार अभियुक्तहरूलाई आत्मसमर्पण नगर्न उक्साउने, आर्थिक सहयोग उपलब्ध गराउने तथा हतियारसम्म पहुँच रहेको संकेत दिने अभिव्यक्ति दिएका थिए। अध्यागमनको दाबीमा उनलाई एक उच्चपदस्थ विदेशी सरकारी अधिकारीको हत्या गर्ने षडयन्त्रसँग समेत जोडिएको उल्लेख छ।
घटनाबारे नेपाली प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ।