रुपेश यादव, रौतहट । रौतहटको फतुवा विजयपुर मा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्दै आएका स्थानीयवासीले बिहीबार सरकारविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन्।
सम्भावित बस्ती हटाउने तयारीको विरोधमा उत्रिएका स्थानीयले बजार परिक्रमा गर्दै नगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।




वर्षौंदेखि बसोबास गर्दै आएका गरिब तथा विपन्न परिवारलाई विस्थापित गर्ने प्रयास भइरहेको आरोप लगाउँदै प्रदर्शनकारीहरूले सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका थिए। “बसोबासको ग्यारेन्टी गर”, “सुकुम्बासीमाथि अन्याय बन्द गर” लगायतका नारासहित आन्दोलनमा सहभागीहरूले आफ्नो अधिकार सुरक्षित गर्न माग गरेका थिए।
प्रदर्शनपछि आन्दोलनकारीहरूले कार्यवाहक नगर प्रमुख अम्बेया खातुनलाई ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझ्दै नगर प्रमुखका श्रीमान मोहम्मद सेराजले कानुनी प्रक्रियाभित्र रहेर स्थानीयको समस्यामा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै विभिन्न राजनीतिक दलका नेताहरूले दशकौँदेखि बसोबास गर्दै आएका नागरिकलाई कुनै पनि बहानामा हटाउन नहुने बताएका थिए। ज्ञानेन्द्र यादव, प्रदीप पटेल, लालबाबु पटेल तथा कान्ती महतो लगायतले सुकुम्बासी समस्या समाधान संवाद, व्यवस्थापन र वैकल्पिक उपायमार्फत गर्नुपर्ने धारणा राखेका थिए।
वक्ताहरूले जनताको मत लिएर सत्तामा पुगेका सरकारले जनभावना विपरीत निर्णय गरे त्यसको राजनीतिक असर गम्भीर हुन सक्ने चेतावनीसमेत दिएका थिए। उनीहरूले भूमिहीन र सुकुम्बासीको विषयलाई केवल प्रशासनिक कारबाहीको रूपमा नभई सामाजिक र मानवीय मुद्दाको रूपमा हेर्नुपर्नेमा जोड दिएका छन्।
स्थानीयस्तरमा बढ्दो विरोधसँगै फतुवा विजयपुर क्षेत्रमा सुकुम्बासी बस्ती व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। आन्दोलनकारीहरूले आफ्ना माग तत्काल सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।




