कलैया । बारा जिल्लाको पचरौता नगरपालिकाले नगर क्षेत्रभित्र रहेका मदिरा पसलहरूलाई व्यवस्थित गर्न नयाँ निर्देशन जारी गरेको छ।
नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार विद्यालय, मठ, मन्दिर, मस्जिद जस्ता संवेदनशील क्षेत्रको ५०० मिटर वरपर मदिरा (जाँड–रक्सी) बिक्री वितरण तथा सेवन गर्न पूर्ण रूपमा निषेध गरिएको जनाएको छ।


नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका सम्पूर्ण मदिरा व्यवसायीलाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र तोकिएको मापदण्डअनुसार पसल हटाउन तथा व्यवस्थापन गर्न निर्देशन दिएको छ। साथै साँझ ७ बजेपछि नगर क्षेत्रभित्र रहेका सम्पूर्ण मदिरा पसलहरू पूर्ण रूपमा बन्द गर्नसमेत आग्रह गरिएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तराज जोशीद्वारा जारी उक्त सूचनामा नियम उल्लंघन गर्ने पसलमाथि आवश्यक कारबाही गरिने संकेत गरिएको छ।
नगरपालिकाको यो निर्णयले विद्यालय तथा धार्मिक क्षेत्र वरपर हुने मदिरा बिक्री नियन्त्रण गरी सामाजिक वातावरण सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उक्त सूचनाको बोधार्थ जिल्ला प्रशासन कार्यालय बारा, इलाका प्रहरी कार्यालय सिम्रौनगढ र बारागढी, साथै विभिन्न प्रहरी चौकीहरूलाई पठाइएको छ, जसले निर्णय कार्यान्वयनमा प्रशासनिक सहयोग पुर्याउने जनाइएको छ। 


