कलैया । बाराको मटिअर्वास्थित सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्ममा कार्यरत डीएसपी नारायण प्रसाद पौडेल लाई छानबिनका लागि १२ नम्बर गणमा तानिएको छ।
स्रोतका अनुसार, ड्युटी अवधिमा मदिरा सेवन गर्ने तथा कबाड र कपडाको अवैध तस्करीमा संलग्न समूहलाई संरक्षण दिएको आरोपपछि पौडेलमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको हो। शुक्रबार राति उनलाई जिम्मेवारीबाट हटाएर गणमा बोलाइएको बताइएको छ।

प्राप्त जानकारीअनुसार सीमा क्षेत्रमा हुने अवैध कारोबारमा संलग्न तस्करहरूसँग मिलेमतो गरेको उजुरी परेपछि उच्च अधिकारीहरूले चासो दिएका थिए। त्यसक्रममा गरिएको आकस्मिक अनुगमनका बेला डीएसपी पौडेल मदिरा सेवनका कारण उपस्थित हुन नसकेको आरोपसमेत लगाइएको छ।
यस घटनाले सशस्त्र प्रहरी संगठनको छविमा असर पारेको भन्दै छानबिन अघि बढाइएको स्रोतको भनाइ छ।
यता, सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति बिशाल सिलवाल ले भने डीएसपी पौडेलको स्वास्थ्यमा समस्या देखिएकाले केही समयका लागि गणमा बोलाइएको जानकारी दिएका छन्। उनका अनुसार मटिअर्वा सीमा सुरक्षा गुल्मको जिम्मेवारी तत्कालका लागि अर्का डीएसपीलाई दिइएको छ।
यस घटनाले सामाजिक सञ्जालमा समेत चर्चा पाएको छ। स्थानीय पत्रकार राजु चौरसिया ले शुक्रबार साँझ फेसबुकमार्फत डीएसपी र तस्करबीच रकम लेनदेन भएको आरोपसहित पोस्ट सार्वजनिक गरेपछि विषय थप चर्चामा आएको हो।
यद्यपि, सम्बन्धित निकायले हालसम्म औपचारिक रूपमा छानबिनको निष्कर्ष सार्वजनिक गरिसकेको छैन। स्थानीयवासीले सीमा क्षेत्रमा हुने अवैध गतिविधिको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।


