काठमाडौं । अमेरिकाको वासिङ्टन डीसीस्थित हिल्टन होटलमा आयोजित ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरका क्रममा भएको गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सार्वजनिक गरिएको छ।
घटनापछि पक्राउ परेका व्यक्तिको तस्वीर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत सार्वजनिक गरेका हुन्।

शनिबार साँझ आयोजित उक्त कार्यक्रममा एक सशस्त्र व्यक्तिले सुरक्षा घेरा तोड्दै प्रवेश गर्ने प्रयास गरेपछि सेक्रेट सर्भिसका एजेन्टहरूले तत्काल नियन्त्रणमा लिएका थिए।
घटनाको समयमा राष्ट्रपति ट्रम्प, प्रथम महिला मेलानिया ट्रम्प तथा उपराष्ट्रपति जेडी भान्स उपस्थित थिए। सुरक्षा टोलीले उनीहरूलाई तत्काल सुरक्षित स्थानमा सारिएको थियो।
मुठभेडका क्रममा एक सुरक्षा अधिकारीलाई गोली लागेको भए पनि बुलेटप्रुफ ज्याकेटका कारण ठूलो क्षति हुनबाट जोगिएको जनाइएको छ। राष्ट्रपति ट्रम्पले सुरक्षाकर्मीहरूको तदारुकता र साहसको प्रशंसा गर्दै घाइते अधिकारीको अवस्था सामान्य रहेको जानकारी दिएका छन्।
प्रत्यक्षदर्शीका अनुसार पहिलो पटक ठूलो आवाज सुनिएपछि कार्यक्रममा सहभागीहरू आत्तिँदै टेबलमुनि लुकेका थिए। केही क्षणमै सुरक्षाकर्मीहरूले अत्याधुनिक हतियारसहित घटनास्थल नियन्त्रणमा लिएका थिए।


