रौतहट । बिजुली, पानी तथा विवाहसँग सम्बन्धित बाँकी भुक्तानी तत्काल दिलाउन माग गर्दै मौलापुरमा गठित संघर्ष समितिले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। लामो समयदेखि स्थानीय समस्या समाधान नभएपछि दबाब सिर्जना गर्न आन्दोलनको कार्यक्रम अघि सारिएको हो।
मौलापुर बजारस्थित पत्रकार सम्मेलनमार्फत संघर्ष समितिले आन्दोलनका सम्पूर्ण कार्यक्रम सार्वजनिक गरेको छ।

कार्यक्रमअनुसार वैशाख १३ गतेदेखि टोल–टोलमा अन्तरक्रिया तथा हस्ताक्षर संकलन अभियान सञ्चालन गरिनेछ। यस अभियानमार्फत स्थानीय बासिन्दाको समर्थन जुटाउँदै मागलाई थप सशक्त बनाइने जनाइएको छ।
त्यसैगरी, वैशाख १५ गते प्रमुख जिल्ला अधिकारीमार्फत सम्बन्धित सरकारलाई औपचारिक ज्ञापनपत्र बुझाइनेछ। ज्ञापनपत्रमा स्थानीय समस्या र तत्काल समाधानको माग समेटिनेछ।
यस्तै, वैशाख २१ गते नगरपालिकामा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ। प्रदर्शनमार्फत सरोकारवाला निकायको ध्यानाकर्षण गराइने संघर्ष समितिले जनाएको छ।
अन्तिम चरणमा जेठ ४ गतेदेखि नगरपालिकामा तालाबन्दी गर्ने कार्यक्रम समेत घोषणा गरिएको छ। माग सम्बोधन नभए आन्दोलन अझ कडा बनाइने चेतावनीसमेत समितिले दिएको छ।
संघर्ष समितिले सम्बन्धित निकायलाई नागरिकका आधारभूत सेवा–सुविधा र बाँकी भुक्तानी समस्याप्रति गम्भीर भई तत्काल समाधान गर्न आग्रह गरेको छ।



