कलैया । बारा जिल्लाको फेटा गाउँपालिकामा युवा नेता उमेश दुबेप्रति जनसमर्थन उल्लेख्य रूपमा बढ्दै गएको पाइएको छ । पछिल्लो तीन वर्षदेखि निरन्तर समाज सेवामा सक्रिय रहँदै आएका दुबेले सुरु गरेको ‘जनता सरकार’ अभियानले स्थानीय युवाहरूलाई समेत आकर्षित गर्न थालेको छ । जनताको दैनिक समस्यासँग प्रत्यक्ष जोडिएर काम गर्दै आएका कारण उनीप्रति विश्वास बढ्दै गएको स्थानीयहरू बताउँछन् ।
स्थानीय तहदेखि संघीय तहसम्मका निर्वाचनहरूमा ठूला-ठूला प्रतिबद्धता जनाउने नेताहरू निर्वाचनपछि जनतासँग टाढिने प्रवृत्ति देखिएको अवस्थामा, दुबे भने चुनाव नलडेका भए पनि निरन्तर जनताको बीचमै सक्रिय रहँदै आएकोले उनको लोकप्रियता बढेको हो । स्थानीय बासिन्दाहरूका अनुसार, उनी केवल वाचा गर्ने होइन, व्यवहारमै काम गरेर देखाउने नेता हुन् ।



फेटा गाउँपालिका वडा नम्बर २ का स्थानीय राजन पटेलले यसपटकको स्थानीय तह निर्वाचनमा दुबेप्रति जनलहर देखिएको दाबी गरे । उनका अनुसार, प्रतिनिधि सभा निर्वाचनमा देखिएको जनसमर्थन जस्तै अब स्थानीय तहमा पनि दोहोरिने विश्वास गरिएको छ । “जनताको सुख–दुःखमा सधैं साथ दिने व्यक्ति भएकाले यसपालि उहाँलाई निर्वाचित गराउने वातावरण बन्दै गएको छ,” उनले भने ।
त्यसैगरी, अन्य स्थानीयहरूका अनुसार दुबेले आपत्कालीन अवस्थामा सहयोग गर्ने, गरिब तथा असहाय नागरिकहरूको उपचारमा व्यक्तिगत खर्चबाट सहयोग गर्ने जस्ता कार्यहरू नियमित रूपमा गर्दै आएका छन् । फेटा गाउँपालिका वडा नम्बर ४ का एक युवाले भने, “निर्वाचित जनप्रतिनिधिले गर्न नसकेको काम दुबेले गरेर देखाएका छन् । पानीको समस्या भएको बेला पाइप वितरणदेखि लिएर टावर लाइट जडानसम्मका काम उनले गरेका छन् ।”
उनीका अनुसार, फेटा गाउँपालिका भित्र ४ सयभन्दा बढी नागरिकको आँखा शल्यक्रियामा सहयोग गरिएको छ भने विभिन्न स्वास्थ्य समस्यामा परेका नागरिकहरूलाई अस्पतालसम्म पुर्याउने तथा उपचार गराउने कार्यमा पनि दुबे अग्रसर देखिएका छन् । यस्ता सामाजिक कार्यहरूले स्थानीय समुदायमा सकारात्मक प्रभाव पार्दै गएको देखिन्छ ।
खेलकुद क्षेत्रमा समेत दुबे सक्रिय रहेको स्थानीय युवाहरू बताउँछन् । क्रिकेट, कुस्ती, कराते लगायत विभिन्न खेलकुद गतिविधिमा उनले खेलाडीहरूको मनोबल बढाउने र आवश्यक सहयोग गर्ने गरेका छन् । “खेलाडीहरूलाई आवश्यक सामग्रीदेखि प्रतियोगिता आयोजनासम्ममा सहयोग गर्दै आएका छन्,” एक स्थानीय युवाले बताए ।
फेटा गाउँपालिकाका विभिन्न वडाहरूका युवाहरू दुबेप्रति आकर्षित हुँदै गएको र आगामी दिनमा अझ सशक्त रूपमा उनको अभियानमा जोडिने संकेत देखिएको छ । ‘जनता सरकार’ अभियानलाई प्रभावकारी बनाउँदै जनताको सेवामा केन्द्रित रहँदा दुबेले स्थानीय राजनीतिमा नयाँ विकल्पको रूपमा आफूलाई स्थापित गर्दै गएको विश्लेषकहरूको भनाइ छ ।
समग्रमा, सेवा, समर्पण र जनतासँगको नजिकको सम्बन्धका कारण युवा नेता उमेश दुबे फेटा गाउँपालिकामा लोकप्रिय बन्दै गएका छन् । स्थानीय तहको आगामी निर्वाचनमा उनको भूमिकाले कस्तो मोड लिन्छ भन्ने विषयमा चासो बढ्दै गएको छ ।



