नवीन चौधरी, कोल्हवी । बारा जिल्लाको कोल्हवी नगरपालिका तथा आसपासका क्षेत्रमा अवैध जुवा–तास र घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण बढ्दो क्रममा रहेको भन्दै स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन्। स्थानीयका अनुसार यस्ता गतिविधि लामो समयदेखि सञ्चालन भइरहे पनि सम्बन्धित निकायबाट प्रभावकारी नियन्त्रण हुन सकेको छैन।
स्थानीय स्रोतका अनुसार कोल्हवीको मनकामना चोकबाट पिपरिया जाने सडकखण्ड नजिक रहेको एक निजी घर तथा प्रसौना क्षेत्रको एक घरमा नियमित रूपमा जुवा–तास खेलाइने गरिएको छ। प्रसौनामा सानो स्तरको खेल हुने भए पनि क्रसर उद्योग नजिकको स्थानमा ठूलो रकमको खेल सञ्चालन हुने गरेको दाबी गरिएको छ। त्यहाँ दिनको समयमा तास तथा रातिको समयमा कौडा खेलाइने गरिएको स्थानीयहरूको भनाइ छ।




त्यस्तै वडा नम्बर ५ अन्तर्गत पर्ने गोकुलटाडि स्थित एक पोखरीको छेउमा र बोधबन देखि आसामटोल चौकि जाने बाटो नजिकैको पोखरीको डिलमा समेत जुवा तास खेलाउने गरेको देखिन्छ ।
स्थानीयका अनुसार कोल्हवी नगर क्षेत्रका केही प्रभावशाली व्यक्तिहरूसहित छिमेकी जिल्ला रौतहटबाट समेत खेलाडीहरू आउने गरेका छन्। खेलमा सहभागी हुनेहरूका लागि खानेपानी, चुरोट तथा नास्ताको व्यवस्था गरिने र खेल सञ्चालनकर्ताले निश्चित शुल्कसमेत उठाउने गरेको बताइन्छ।
यस्तै, कोल्हवी–१० बछनपुर्वा क्षेत्रमा घरेलु मदिरा उत्पादन हुने ठूलो भट्टी रहेको दाबी गरिएको छ। स्थानीयका अनुसार विभिन्न गाउँमा साना भट्टी सञ्चालनमा रहे पनि हनुमानगञ्ज र खैरा क्षेत्रमा उत्पादित घरेलु मदिराको कारोबार बढी हुने गरेको छ।
यसैबीच, केही स्थानीयले जुवा तथा घरेलु मदिरा कारोबारमा संलग्न व्यक्तिहरूले प्रहरीसँग आर्थिक लेनदेन गरी गतिविधि सञ्चालन गरिरहेको आरोप लगाएका छन्। यद्यपि यस्ता आरोपको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
स्थानीयवासीहरूले इलाका प्रहरी कार्यालय कोल्हवी, झुरझुर प्रहरी चौकी तथा असामटोल–सिहोर्वा प्रहरी चौकीलाई अवैध गतिविधिबारे जानकारी हुँदाहुँदै पनि अपेक्षित कारबाही नभएको गुनासो गरेका छन्। केही स्थानीयले राजनीतिक पहुँच भएका व्यक्तिहरूको संरक्षणका कारण अवैध गतिविधि नियन्त्रणमा समस्या भएको दाबी गरेका छन्।
यता, सम्बन्धित सुरक्षा निकायले भने यस्ता गतिविधिबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। स्थानीय बासिन्दाले जुवा–तास तथा घरेलु मदिरा नियन्त्रणका लागि निष्पक्ष अनुगमन र कडा कारबाहीको माग गरेका छन्।






