कोल्हबी, बारा । समाचार प्रकाशन भएको विषयलाई लिएर कोल्हबी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष किसुन दयाल चौधरीले सार्वजनिक कार्यक्रममै पत्रकारमाथि हातपात गर्ने प्रयास गरेको छ।
बाराबाट सञ्चालित बाराको गतिविधि अनलाइनका सञ्चालक तथा सञ्चारकर्मी सुरेश विक्रम थापामाथि वडा अध्यक्ष चौधरीले आक्रोश व्यक्त गर्दै ज्यान मार्ने धम्की दिएको तथा हातपात गर्न खोजेको सार्वजनिक भएको हो।




प्राप्त जानकारीअनुसार वडा अध्यक्ष चौधरीले आफूविरुद्ध समाचार प्रकाशित भएको भन्दै कार्यक्रमस्थलमै आक्रोश पोखेका थिए। प्रत्यक्षदर्शीहरूका अनुसार उनले सञ्चारकर्मी थापालाई अपशब्द प्रयोग गर्दै धम्की दिएका थिए भने रिसको आवेगमा मुक्का प्रहार गर्नसमेत खोजेका थिए। घटनाका क्रममा लिफ्टमा मुक्का हानेको समेत बताइएको छ।
उक्त घटना कोल्हबी नगरपालिकाले आयोजना गरेको सहकारी तथा कोपोमिस सम्बन्धी ७ दिने निःशुल्क तालिमको समापन समारोहका क्रममा भएको बताइएको छ। कार्यक्रममा नगर प्रमुख राम प्रसाद चौधरी, उपप्रमुख लक्ष्मी कुमारी चौधरी, विभिन्न वडाका जनप्रतिनिधि लगायत नेपाल पत्रकार महासंघ बाराको कार्यसमिति नवीन चौधरीको पनि उपस्थिति रहेको थियो।
सार्वजनिक कार्यक्रममै निर्वाचित जनप्रतिनिधिबाट पत्रकारमाथि धम्की र हातपातको प्रयास भएको आरोप लागेपछि स्थानीय पत्रकारहरू तथा नागरिक समाजका प्रतिनिधिहरूले घटनाप्रति गम्भीर चासो व्यक्त गरेका छन्। समाचारप्रति चित्त नबुझे कानुनी उपचारका लागि प्रेस काउन्सिल नेपाल लगायतका निकाय उपलब्ध हुँदाहुँदै धम्की र बल प्रयोगको बाटो रोजिनु लोकतान्त्रिक संस्कारविपरीत भएको उनीहरूको भनाइ छ।
पत्रकारिता पेशामाथि हुने यस्ता गतिविधिले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा नागरिकको सूचनाको अधिकारमाथि प्रत्यक्ष असर पर्ने भन्दै घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरिएको छ।
पत्रकारहरूले समाचार लेखेकै आधारमा त्रास सिर्जना गर्ने, धम्की दिने तथा हातपातको प्रयास गर्ने कार्य कुनै पनि लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन नसक्ने बताएका छन्। घटनामा संलग्नमाथि आवश्यक अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्न सरोकारवालाहरूले माग गरेका छन्।






